साउन १४ बाजुरा । बाजुरामा गत आर्थिक बर्ष २०८०÷८१ मा सवारी धनी कारवाहीबाट ११ लाख ११ लाख ५१ हजार ५ सय राजस्व सकलन भएको छ । ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनका चाललाई कारबाही गरे वाफत ११ लाख ५१ हजार ५ सय राजश्व संकलन भएको हो ।
एक बर्षमा जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने १ हजार ९ सय ४९ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीले जानकारी गराए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराका अनुसार गत आर्थिक बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सबैभन्दा बढी कार, जीपबाट ५ लाख ३५ हजार राजश्व संकलन भएको छ ।
त्यस्तै ३ सय ८ वटा ट्याक्टरबाट एक लाख ८४ हजार, ४ सय १५ वटा मोटर साइकलबाट २ लाख ४० हजार ५ सय, १ सय २० ट्रकबाट ७६ हजार, ९९ वटा बसबाट ६५ हजार र ८३ वटा अन्य सवारी चालक कारबाहीबाट ४९ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले आर्थिक बर्ष ०७९।८० को भन्दा गत आर्थिक वर्षमा सवारी साधन चालकलाई कारवाही गरी राजस्व संकलनमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय बाजुराका सहायक हवल्दार हर्क बहादुर सिजालीले जानकारी गराए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिकले प्रत्येक दिन विद्यालयमा, चालकसँग एक मिनेट कार्यक्रम तथा यात्रुलाई सम्झाउने जस्ता जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आएको सहायक हवल्दार सिजालीले जानकारी गराए ।


