साउन ११ धनगढी । भन्सार कार्यालय कैलालीले गत आर्थिक वर्ष २०८०÷८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सार कार्यालयकैलालीले सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको हो ।
भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडा लगायतका सामानको आयात घटेकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको जानकारी गराए ।
आर्थिक बर्ष २०८०÷८१ मा भन्सार महसुल बाफत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।
भन्सार कार्यालयले आर्थिक बर्ष २०८०÷८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको उनले जानकारी गराए । त्यसैगरी आर्थिक बर्ष २०७९÷८० मा आठ अर्ब २९ करोड राजस्व सङ्कलन भएको जानकारी गराउदै खडकाले आर्थिक बर्ष २०७८÷७९ मा नौ अर्ब ५८ करोड राजस्व संकलन भएको जानकारी गराए ।
त्यसैगरी आर्थिक बर्ष २०७७÷७८ मा आठ अर्ब ८४ करोड राजश्व सङ्कलन भएको जानकारी गराउदै सूचना अधिकारी खड्काले आर्थिक बर्ष २०७६÷७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको बताए ।
आर्थिक बर्ष २०७५÷७६ मा कैलाली भन्सार कार्यालयले पा“च अर्ब १९ करोड राजश्व सङ्कलन गरेको सूचना अधिकारी खड्काले जानकारी गराए ।


