साउन ०४ धनगढी । जिल्ला ट्राफिक कार्यालय कैलालीले २ करोड ३३ लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को असार मसान्त सम्म ३२ हजार तीन सय २० वटा सवारी साधनका सञ्चालकलाई कार्बाही गर्दा २ करोड ३३ लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको हो ।
२ हजार ९ सय ३९ ट्रक, २ हजार ८२ बस, ४ हजार १७ जिपकार, २ हजार ७ सय ४३ ट्रयाक्टर, १६ हजार ६ सय ११ मोटरसाईकल र ३ हजार ९ सय ३८ अन्य सवारी साधनका धनीलाई कर्बाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी गराए ।
मापसे गरेका, लेन अनुशासन पालना नगरेका, ओभरलोड, स्पिड, सिटबेल्टको प्रयोग नगरेका, बिना हेल्मेट मोटरसाइकल चलाएका,मोटर साइकलमा ३ जना सवार र पूर्णरुपमा ट्राफिक नियमको पालना नगरेका सवारी साधनका चालकलाई कार्बाही गरिएको उनले बताए ।
त्यसैगरी कैलालीमा २ सय ५७ वटा सवारी साधन दुर्घटना हुँदा ७८ जनाको मृत्यु हुनुका साथै १ सय ६४ जना गम्भीर घाइते भएको उनले जानकारी गराए । त्यसैगरी १ सय १९ जना साधारण घाइते भएको उनले जानकारी गराए । १ सय ९२ वटा दुर्घटनामा संलग्न दुईपाँग्रे गाडी १ सय ५४ रहेको उनले बताए ।
सवारी साधन दुर्घटनामा ७ वटा चौपायाको मृत्यु भएको र ३ वटा घाइते भएको प्रमुख सारुले जानकारी गराए । दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक कार्यालयले विधार्थीका लागि ३९ वटा कक्षा संचालन गर्दा ५ हजार १ सय ९२ विद्यार्थी सहभागी भएको उनले जानकारी गराए ।
नयाँ लाइसेन्स लिने चालकलाई जिम्मेवारी बहन गराउन र ट्राफिक नियमको बारेमा जानकारी दिन ४३ पटक कक्षा संचालन गर्दा ७ हजार १ सय १२ जना सहभागी भएको उनले जानकारी गराए । हरेक शुक्रबार मादकपदार्थ सेवन गरी लेन अनुशासन र ओभर स्पिड सम्बन्धी कसुर गर्नेलाई ५३ पटक साप्ताहिक कक्षा लिएको बताउदै उनले २ हजार ७ सय २१ जना सहभागी भएको बताए ।
‘दुर्घटना न्युनिकरणका लागि हरसम्भव कोशिस गरिरहेको बताउदै उनले ‘धनगढी बजार क्षेत्रमा सडक निर्माण भइरहेको बारे चालकलाई जानकारी गराइ रहेको बताए । ६ लेनको हकमा भने सवारी साधन चलाउने चालकलाई स्पिड कन्ट्रोल, जेब्रा क्रसिङ गर्दा दायाँबायाँको इन्डिकेटर प्रयोग गर्नुपर्ने कुरामा ट्राफिकले सचेतना गरिरहेको बताउदै उनले बढीजसो अटोचालकसँग ५ मिनेट स्पोर्टमै प्रशिक्षण गर्ने गरेको बताए ।
छाडा चौपायाबाट सावधानी गराउन र चालकले सजिलै देख्न सकुन भन्ने उदेशयले त्यस्ता पशुको घाँटीमा रिफ्लेक्टिक स्टिकर जडान गरिरहेको बताउदै उनले हुलाकी राजमार्ग र आसपासका सडकमा जनचेतना मुलक होडिङ बोर्ड पनि झुण्ड्याइएको जानकारी गराए ।


