साउन २० बैतडी । बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्र भित्रका विद्यालयबाट गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने ९ जना विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
मङ्गलबार आयोजित औपचारिक कार्यक्रममा कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने ९ जना विद्यार्थीलाई नगद पुरस्कार सहित नगरपालीकाले सम्मान गरेको हो ।
नगरपालिकाका अनुसार कक्षा ८ तर्फ शीतलपुर माध्यमिक विद्यालयका सचिन धनाडी प्रथमलाई २० हजार रुपैयाँ, सोही विद्यालयकी उर्मिला नेगी द्वितीयलाई १५ हजार रुपैयाँ र कमलपुर माध्यमिक विद्यालय, कोटीगाउँका प्रवेश ठगुन्ना तृतीयलाई १० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
एसईईतर्फ शीतलपुर माध्यमिक विद्यालयका प्रशान्त सिंह विष्ट प्रथमलाई ३५ हजार रुपैयाँ, सोही विद्यालयका सागर नेगी द्वितीयलाई ३० हजार रुपैयाँ र दुर्गा माध्यमिक विद्यालयका पदम जोशी तृतीयलाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिउको हो ।
त्यसैगरी कक्षा १२ तर्फ मणिलेक माध्यमिक विद्यालयका सागर भट्ट प्रथमलाई ३५ हजार रुपैयाँ, सोही विद्यालयका सुशान्त सिंह द्वितीयलाई हुँदै ३० हजार रुपैयाँ र दुर्गा माध्यमिक विद्यालय, खलिगाडका योगेश भट्ट तृतीयलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
नगर प्रमुख भीमबहादुर चन्दले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराए ।
विद्यार्थीमा अध्ययन प्रतिको रुचि, प्रतिस्पर्धात्मक भावना र उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले विगत तीन वर्षदेखि निरन्तर उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गर्दै आएको उनले जानकारी गराए ।


