साउन २० धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले किसानले आफ्नो लगानी अनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।
प्रदेशको अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेकाले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउदै उनले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका अवरोध प्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए प्रदेश सरकार नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न तयार भएको बताए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालबाट सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।
त्यसैगरी तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको आरोप लगाएको विषयमा मुख्यमन्त्री शाहले त्यसको पुष्टि गर्न चुनौती दिएका छन् ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारी कार्यक्रम मार्फत निर्माण गरिएको हो ।
कृषि जन्य उद्योग स्थापना कार्यक्रम अन्तर्गत बिउ प्रशोधन मेसिन खरिद तथा जडान गरिएको यस आयोजनाको कार्यान्वयन सहकारी संस्थाले गरेको हो । आयोजनाको कुल सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ ।
कृषि विकास निर्देशनालयले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम सहकारी संस्थाले व्यहोरेको जनाएको छ । संस्थाका अनुसार आयोजनाको वास्तविक लागत सम्झौता भन्दा केही बढी रहेको छ ।
आयोजना २०८३ साल वैशाख ८ गते सम्झौता भई जेठ १२ गतेदेखि निर्माण सुरु भएको थियो । निर्माण कार्य २०८३ साल असार १५ गते सम्पन्न भएको हो ।


