साउन २० धनगढी । कैलाली र कञ्चनपुरबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगर पालिका वडा नम्बर–२ विशालनगरबाट ९४ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ परेको छ । स्थानीय ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुवास हमाललाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट विशाल नगर, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नम्बर–१ खडकचोकबाट ६ सय ७० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित गोदावरी नगरपालिका वडा नम्बर–७ का २३ वर्षीय मीन रावललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर– ३ मिलन चोकबाट लागू औषध स्पास २ सय ४० ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ जुगेडाका १९ वर्षीय बिर्ख बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका वडा नम्बर–१ खल्ला पिपल चौताराबाट लागू औषध खैरो हेरोइन ५ सय ५० मिलिग्राम सहित पुनर्वास नगरपालिका वडा नम्बर– ३ राम बस्तीका १९ वर्षीय निशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले सुप प्र.०१–०१२ प ७४८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।


