साउन १९ धनगढी । सेवामुखि उदेश्यले सञ्चालन गरिएको एम्बुलेन्स सेवा सेवामुखि नभई कमाई मुखि बन्दै गएको छ । बिरामीलाई छिटो, सुरक्षित र सहज रूपमा स्वास्थ्य संस्थासम्म पु¥याउने सेवामुखि उदेश्यले सञ्चालन गरिएको एम्बुलेन्स सेवा सेवामुखि नभई कमाई मुखि बन्दै गएको हो ।
नेपालमा एम्बुलेन्सलाई निजी व्यवसायका रूपमा नभई सेवामुखी रूपमा संस्थामार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको भएपनि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सहित कैलालीमा पछिल्ला वर्षहरूमा एम्बुलेन्स सञ्चालनको अभ्यासमा परिवर्तन देखिन थालेको छ ।
बिरामीलाई सहज सेवा उपलब्ध गराउनु, चालकलाई सेवामुखी बनाउनु तथा सञ्चालनको जिम्मेवारी सम्बन्धित संस्थाले वहन गर्नु भए पनि विभिन्न संस्था, अस्पताल तथा कार्यालयको नाममा दर्ता भएका एम्बुलेन्स चालकलाई सम्पूर्ण जिम्मेवारी दिएर ‘ठेक्का’ शैलीमा सञ्चालन भइरहेका छन । ठेक्का’ शैलीमा एम्बुलेन्स सञ्चालन भइरहेकाले सेवामुखी उद्देश्य ओझेलमा परेको छ ।
चालकको प्राथमिकता बिरामीको सेवाभन्दा दैनिक आम्दानी बढाउनेतर्फ केन्द्रित हुने गरेकनले त्यसको प्रत्यक्ष असर बिरामीलाई पर्ने गरेको छ । जसका गर्दा समयमै एम्बुलेन्स नपाउने, मनपरी भाडा लिर्ने तथा आवश्यक स्थानमा एम्बुलेन्स उपलब्ध नहुने समस्याहरु देखिन थालेका छन । एम्बुलेन्स सञ्चालनका लागि अनुमति लिँदा निश्चित क्षेत्र र समुदायलाई सेवा दिने उद्देश्य उल्लेख गरिएको हुन्छ ।
सोही क्षेत्रमा एम्बुलेन्स उपलब्ध होस् भन्ने व्यावस्थाले आकस्मिक अवस्थामा स्थानीयले छिट्टै सेवा पाउन सकुन् भन्ने लक्ष्य राखिएको हुन्छ । तर कतिपय एम्बुलेन्स अनुमति प्राप्त क्षेत्रमा भन्दा बढी आम्दानी हुने स्थानमा केन्द्रित हुन थालेको स्थानीयले बताएका छन् ।
विशेषगरी धनगढीका अस्पताल वरिपरि एम्बुलेन्स लामबद्ध रूपमा बस्ने गरेका भए पनि गाउँ तथा टाढाका क्षेत्रमा आवश्यक पर्दा उपलब्ध नहुने समस्या बढ्दै गएको स्थानीइले बताएका छन । सिपी अस्पताल, ओम आशा अस्पताल, केजी अस्पताल, प्रेस क्लब, केयर टेकर अस्पताल, युवा एकीबद्धता र युवा जागरण लगायत केही संस्था तथा कार्यालयको नाममा दर्ता भएका एम्बुलेन्सहरू ठेक्का शैलीमा सञ्चालन भइरहेको नाम उल्लेख नगर्ने सर्तमा एक जना ब्याक्तिले बताएका छन ।
यद्यपि तीमध्ये अधिकांश संस्थाले यस्तो आरोप अस्वीकार गरेका छन् । सरोकारवालाका अनुसार एम्बुलेन्स सञ्चालनको अनुमति प्राप्त संस्थाले आफैं सेवा सञ्चालन नगरी चालकलाई सम्पूर्ण आर्थिक जिम्मेवारी सहित एम्बुलेन्स सञ्चालन गर्न दिएपछि समस्या सुरु भएको हो । यस्तो अवस्थामा चालकले संस्थालाई निश्चित रकम बुझाउनु पर्ने भएकाले धेरै बिरामी खोज्ने, बढी आम्दानी हुने स्थानमा बस्ने तथा सेवाभन्दा कमाइलाई प्राथमिकता दिने प्रतिस्पर्धा बढेको आरोप लाग्दै आएको छ ।
जसले गर्दा सेवामुखी ढंगले सञ्चालन भइरहेका अन्य एम्बुलेन्स समेत प्रभावमा पर्न थालेका छन । एउटै क्षेत्रमा धेरै एम्बुलेन्स केन्द्रित हुँदा ग्रामीण भेगका नागरिक आकस्मिक अवस्थामा सेवाबाट वञ्चित हुने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन । कैलालीमा एम्बुलेन्स सञ्चालनको नियमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय तथा संयुक्त एम्बुलेन्स सङ्घ कैलालीको रहेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एम्बुलेन्स कसैले पनि ठेक्का वा भाडामा सञ्चालन गर्न नपाउने बताएका छन । यदि कसैले त्यसरी सञ्चालन गरेको पाइए कानुन अनुसार कारबाही हुने उनले बताएका छन । अहिलेसम्म यस विषयमा कुनै औपचारिक उजुरी नआएकाले जानकारी नभएको उनले बताएका छन ।
संयुक्त एम्बुलेन्स सङ्घ कैलालीका अध्यक्ष बलदेव भट्टले सङ्घले सुरुदेखि ठेक्का प्रणालीको विरोध गर्दै आएको बताए । केही व्यक्तिले भित्रभित्रै यस्तो अभ्यास गरिरहेको जानकारी सङ्घलाई पनि आएको उनले बताएका छन । एम्बुलेन्स सेवामुखी साधन भएको बताउदै उनले व्यावसाय गर्ने माध्यम नभएको बताए ।
एम्बुलेन्स ठेक्कामा सञ्चालन गर्नु नहुने बताउदै भट्टले सबै अस्पतालमा एम्बुलेन्सहरूको सम्पर्क विवरण सहितको सूची टाँस गरिएको भए पनि हाल अधिकांश अस्पतालमा उक्त सूची नरहेको बताए । यस विषयमा विभिन्न अस्पताल तथा संस्थासँग प्रतिक्रिया माग्दा सिपी अस्पताल, ओम आशा अस्पताल र केजी अस्पताल लगायतका संस्थाका प्रतिनिधिहरूले ठेक्का प्रणालीमा एम्बुलेन्स सञ्चालन भइरहेको आरोप अस्वीकार गरेका छन । तर प्रेस क्लबको एम्बुलेन्स सञ्चालन गरिरहेका चालकले भने आफ्नो एम्बुलेन्स ठेक्का प्रणालीमै सञ्चालन भइरहेको स्वीकार गरेका छन् ।
अर्का एक एम्बुलेन्स चालकले पनि धनगढीका अधिकांश एम्बुलेन्स यस्तै अभ्यासबाट सञ्चालन भइरहेको दावी गरेका छन । स्रोतका अनुसार केही अस्पताल तथा संस्थाले एम्बुलेन्स आफ्नै नाममा दर्ता गरे पनि चालकलाई तलब नदिई सञ्चालन खर्च तथा आम्दानीको सम्पूर्ण जिम्मेवारी चालकलाई सुम्पिने गरेका छन् ।
यस्तो प्रवृत्तिको प्रत्यक्ष असर बिरामी र तिनका परिवारले भोगिरहेका छन् । स्थानीयका अनुसार एम्बुलेन्सका लागि फोन गर्दा “अर्को बिरामी पु¥याउन गएको“ भन्दै लामो समय कुर्नुपर्ने अवस्था रहेको छ । कतिपय अवस्थामा निश्चित रकम लिएर एम्बुलेन्स एउटै व्यक्तिका लागि लामो समयसम्म रोकिने गरेको आरोप समेत लाग्ने गरेको छ ।
जसका कारण अर्को आकस्मिक बिरामीले समयमा सेवा नपाउने अवस्था सिर्जना हुने गरेको छ । गाउँ तथा दुर्गम क्षेत्रका लागि सञ्चालन गरिएका एम्बुलेन्स समेत धनगढीका अस्पताल परिसरमै बढी समय बिताउने गरेकाले ग्रामीण क्षेत्रका नागरिक थप समस्यामा परेको स्थानीयको गुनासो छ ।
एम्बुलेन्स सेवा सेवामुखी उद्देश्यका साथ स्थापना गरिएको भए पनि कमाइमुखी अभ्यासतर्फ उन्मुख हुँदै गएको हो भने सम्बन्धित निकायले प्रभावकारी अनुगमन, नियमन र आवश्यक कारबाही गर्नुपर्ने सरोकारवालाहले बताएका छन ।


