साउन १२ काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा सोमबार भएको रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ । २१२ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमै सीमित रह्यो ।
योसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २११ रन बनायो । ओपनर जन फ्राइलिनले १४९ बलमा शानदार १०० रन बनाए भने लोरेन स्टेन्क्याम्पले ५९ रनको योगदान दिए ।
नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट झारे । जवाफी ब्याटिङमा नेपालका आसिफ शेखले ४५, कप्तान रोहितकुमार पौडेलले ४१ तथा आरिफ शेखले ३८ रन बनाए ।
अन्तिम ओभरसम्म जितको सम्भावना कायम राखे पनि आवश्यक रन जोड्न नसक्दा नेपाल ३ रनले पछि पर्यो । नामिबियाका ज्याक ब्रासेलले ३ तथा रुबेन ट्रम्पलम्यानले २ विकेट लिए ।
बर्नार्ड स्कोल्ट्जले १० ओभरमा मात्र १४ रन खर्चेर किफायती बलिङ गर्दै खेल नेपालको हातबाट फुस्काउन महत्वपूर्ण भूमिका खेले । करण केसीको पाँच विकेटको उत्कृष्ट प्रदर्शन पनि नेपालको हार टार्न पर्याप्त हुन सकेन ।


