बैशाख ०२ धनगढी । कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटना पछि स्थानीयले बन्द गरेको महेन्द्र राजमार्ग खुलेको छ ।
मङ्गलवार लम्कीचुहा नगरपालिका वडा नम्बर–७ गुलरास्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सडक खण्डमा सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गए पछि स्थानीयले बन्द गरेको महेन्द्र राजमार्ग खुलेको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका वडा नम्बर–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटना पछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तहरूले क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवत जावत पूर्ण रूपमा ठप्प भएको अबश्थामा प्रहरीले अवरुद्ध राजमार्ग खुलाएको हो ।
जसले गर्दा सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले राजमार्ग सुचारु भएको बताए । दुर्घटनामा संलग्न हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकनारी गराउदै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।


