बैशाख ०२ धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा काठको अभाव नभए पनि स्थानीय उपभोक्ताले आवश्यक सहज रूपमा काठ पाउन नसकेको गुनासो बढ्दै गएको छ । सामुदायिक वन नजिकै बसोबास गर्ने नागरिकले समेत घर निर्माणका लागि सहज रूपमा काठ पाउन नसकेको गुनासो बढ्दै गएका हो ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–१,सुख्खडकी विमला बुढाथोकीले सामुदायिक वनको सदस्य हुँदाहुँदै पनि घर निर्माणका लागि आवश्यक काठ सहज रूपमा पाउन नसकेको बताईन । वन नजिकै भएकाले समस्या नहोला भन्ने अपेक्षा राखेको बताउदै उनले अन्ततः महँगो मूल्यमा सःमिलबाट काठ खरिद गर्नुपरेको बताइन् ।
जिल्लाका अधिकांश उपभोक्ताले उनी जस्तै समस्या भोगिरहेका छन् । साल, सिसौँ र खयर जस्ता बहुमूल्य काठका रुख प्रशस्त भए पनि ढलेका तथा सुकेका रुख समयमै संकलन गर्न नसक्दा वनमै कुहिने, चोरी हुने तथा डढेलोमा नष्ट हुने अवस्था छ । वन उपभोक्ता समूहका प्रतिनिधिहरूका अनुसार ढलेका रुख समेत उठाउनका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय, प्रदेश वन निर्देशनालयको सिफारिस र मन्त्रालयको स्वीकृति आवश्यक पर्ने भएकाले प्रक्रिया हप्तौँ देखि महिनौँ सम्म लम्बिने गरेको छ । वार्षिक कार्ययोजना अनुसार सीमित संख्यामा मात्र रुख कटान गर्न पाइने व्यवस्थाका कारण ढलेका रुख समेत उपयोग गर्न नपाइने समस्या रहेको छ ।
जसले गर्दा वनमा काठ थुप्रिएर बिग्रिने तथा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । वन क्षेत्रमा थुप्रिएको सुक्खा काठले डढेलोको जोखिम समेत बढाएको सरोकारवालाहरूले बताएका छन् । समयमै व्यवस्थापन नहुँदा वन संरक्षणमा समेत चुनौती थपिएको उनीहरूले बताएका छन ।
सरोकारवाला निकायहरूले हालको कानुनी प्रक्रिया जटिल भएकाले त्यसलाई सरल र व्यवहारिक बनाउनु पर्ने बताएका छन । उपभोक्ता समूहलाई थप अधिकार दिँदै काठ संकलन तथा वितरण प्रक्रिया छिटो र पारदर्शी बनाउन आवश्यक रहेको उनीहरूले सुझाव दिएका छन । वन स्रोतको प्रभावकारी उपयोग, उपभोक्ताको सहज पहुँच र वन संरक्षणलाई सन्तुलनमा राख्ने गरी नीतिगत सुधार गर्न आवश्यक छ ।


