चैत्र १० बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाले परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई प्रतिस्थापन गर्दै ई–हाजिरी प्रणाली लागू गरेको छ ।
डिलासैनी गाउँपालिकाले सुशासन, पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगलाई मजबुत बनाउने उद्देश्यले डिजिटल हाजिरी प्रणाली ई–हाजिरी प्रणाली लागू गरेको हो ।
गाउँपालिकाका सबै कर्मचारीहरूले अनिवार्य रूपमा ई–हाजिरी प्रणाली मार्फत उपस्थित जनाउनु पर्ने भएको छ । यस प्रणालीले कर्मचारीको उपस्थिति देखि बिदा हुने समय सम्मको विवरण स्वचालित रूपमा अभिलेख गर्ने बताईएको छ ।
जसले कार्यसम्पादनमा जिम्मेवारी, अनुशासन र पारदर्शिता वृद्धि गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले ई–हाजिरी प्रणालीले कर्मचारी व्यवस्थापनलाई प्रविधिमैत्री, प्रभावकारी र पारदर्शी बनाउने बताए ।
हाल गाउँपालिका कार्यालयबाट सुरु गरिएको यो प्रणालीलाई यही महिना भित्र वडा कार्यालयहरूमा समेत विस्तार गरिने तयारी गरिएको उनले जानकारी गराए ।


