फागुन २५ कञ्चनपुर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जानकारी गराएको छ । निर्वाचन कार्यालयले जम्मा खसेको मतको ६.८५ प्रतिशत मत बदर भएको जानकारी गराएको हो ।
क्षेत्र नम्बर १ मा ६० हजार ७ सय ८५ मत खसेकोमा तीन हजार ७ सय ३४ मत बदर भएको कार्यालयले जानकारी गराएको छ । उक्त क्षेत्रमा कूल एक लाख एक हजार ७ सय २४ मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३ सय ४७ मत खसेकोमा चार हजार २ सय ३० मत बदर भएको छ ।
एक्र क्षेत्रमा एक लाख नौ हजार ५ सय ७४ मतदाता रहेका थिए । त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २ सय ९ मत खसेकोमा चार हजार ६ सय ६३ मत बदर भएको छ । निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छाप समेत लगाएको पाइएको जानकारी गराए ।
गत निर्वाचनमा छ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । कञ्चनपुरमा तीन लाख १७ हजार ६ सय २३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो ।


