फागुन २० कञ्चनपुर । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मतदान केन्द्रमा मोबाइल, र क्यामेरा लैजान निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी सूचना जारी गरी मतदान केन्द्रमा मोबाइल, र क्यामेरा लैजान निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचनामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान केन्द्र भित्र मोबाइल, र क्यामेरा लैजान निषेध गरेको उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल फोन वा अन्य निषेधित वस्तु साथमा लैजान नपाउने बताए ।
सूचना विपरीत कसैले मोबाइल लगायतका निषेधित सामग्री साथमा लिएर मतदान कक्षमा प्रवेश गरेमा ती वस्तु तत्काल जफत गरी कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चेतावनी दिएको छ ।



