मंसिर १५ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिको बैठकले बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगी समेतलाई थप पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।
सबै निर्णय आगामी पुस १ गते देखि लागू हुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले जानकारी गराए । नगर शिक्षा समितिको निर्णय अनुसार नगर शिक्षण–सिकाइ सहयोग अनुदान अन्तर्गत कार्यरत शिक्षकको पारिश्रमिक, भत्ता तथा व्यवस्थापन सम्बन्धी बजेट व्यवस्थापनका लागि सिफारिस गरिने भएको छ ।
समितिले गुणस्तर सुधार तथा सिकाइ प्रभावकारितामा जोड दिँदै विभिन्न तहका शिक्षक तथा विद्यालय कर्मचारीको सुविधा समायोजन गरेको प्रमुख भट्टले बताए । माध्यमिक तहमा गणित तथा विज्ञान विषय अध्यापन गर्ने शिक्षकलाई मासिक ५ सय विशेष अनुदान प्रदान गरिने निर्णय गरिएको उनले बताए । त्यसैगरी माध्यमिक तहका प्रधानाध्यापकको भत्तामा ७ सय र आधारभूत तहका प्रधानाध्यापकको भत्तामा ५ सय थप गरिने निर्णय गरिएको उनले जानकारी गराए ।
विद्यालयको प्रशासनिक कार्य प्रभावकारी बनाउन माध्यमिक विद्यालयलाई १५ हजार, आधारभूत तहलाई १० हजार प्रशासनिक खर्चका रूपमा उपलब्ध गराइने निर्णय गरिएको शाखा प्रमुख भट्टले बताए । उनका अनुसार बालविकास तहमा अध्यापन गर्दै आएका शिक्षकलाई थप सात हजार गरी १९ हजार, विद्यालय सहायक कर्मचारीलाई नौ हजार थप गरी २४ हजार र विद्यालय सहयोगी कर्मचारीलाई सात हजार थप गरी १७ हजार मासिक पारिश्रमिक दिने निर्णय गरिएको छ ।
अतिरिक्त जिम्मेवारी दिइएका बालविकास शिक्षकलाई मासिक दुई हजार थप अतिरिक्त रकम समेत उपलब्ध गराईने भएको छ । नगर शिक्षण–सिकाइ अनुदान शिक्षकको अद्यावधिक तलब–भत्ताको रकममा वृद्धि गरी निम्न माध्यमिक तहका शिक्षकलाई २३ हजार, माध्यमिक तहका शिक्षकलाई २६ हजार र साविक उच्च माध्यमिक तहका शिक्षकलाई २७ हजार तलब भत्ताको रकम उपलब्ध गराइने भएको छ ।
तीन वटै तहका शिक्षकको तलबमा एक हजारले वृद्धि गर्ने निर्णय गरिएको छ । तलब–भत्ता १३ महिना बराबर उपलब्ध गराइने व्यवस्था गरिएको शाखा प्रमुख भट्टले जानकारी गराए । “शिक्षकलाई यसका अतिरिक्त हरेक वर्ष १० हजार बराबरको पोशाक खर्च उपलब्ध गराइने उनले बताए । नगरपालिकामा सामुदायिक विद्यालयमा ८८ नगर शिक्षक, ६५ बालविकास केन्द्र शिक्षक, विद्यालय कर्मचारी १३ र विद्यालय सहयोगी ३३ जना कार्यरत रहेको उनले बताए ।
स्वीकृत दरबन्दी प्राथमिक तहमा ७३, निम्न माध्यमिक विद्यालयमा १६, माध्यमिक तहमा आठ र उच्च माध्यमिक तहमा दुई रहेको उनले बताए । राहत कोटा प्राथमिक तहमा ५०, निम्न माध्यमिक तहमा २५, माध्यमिक तहमा १६ र उच्च माध्यमिक तहमा आठ रहेको उनले बताए । नगरपालिकाका कुनै पनि विद्यालयमा विज्ञान सङ्काय सञ्चालन नभएकाले, शुक्लाफाँटा नगरपालीका वडा नम्बर–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।
नगरपालिका भित्रका २८ वटा सामुदायिक र २५ वटा निजी विद्यालयमा सौन्दर्यकरणका लागि ‘फुलबारी कार्यक्रम’ अनिवार्य गर्ने निर्णय गरिएको उनले जानकारी गराए । यसका लागि सम्बन्धित विद्यालयलाई पत्राचार गरिने शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले बताए । त्यसैगरी विद्यालयहरूमा नैतिक शिक्षा तथा उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गर्न नगर कार्यपालिकालाई सिफारिस गरिएको छ ।
विद्यालय भवनको मर्मत–सम्भारका लागि २० लाख विनियोजन गर्न नगर कार्यपालिकालाई अनुरोध गर्ने समितिको बैठकले निर्णय गरेको अधिकृत भट्टले बताए । विद्यालय परिसर तथा विद्यालय क्षेत्रभित्र नजिक सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले, विद्यालयमै लागुपदार्थ तथा मदिरा सेवन रोक्ने निर्देशन जारी गर्ने निर्णय गरिएको उनले बताए ।
यसबाहेक विद्यालय परिधिको २ सय मिटर क्षेत्रभित्र मदिरा, सुर्तीजन्य तथा लागुपदार्थजन्य सामग्री खरिद–बिक्री गर्न नपाइने व्यवस्था कार्यान्वयनका लागि पनि नगर कार्यपालिकालाई सिफारिस गरिएको शिक्षा शाखाले जनाएको छ ।
शिक्षक तथा विद्यार्थीको सिकाइ वातावरण सुधार, विद्यालय प्रशासन सुदृढीकरण तथा समुदायमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यी निर्णय महत्वपूर्ण हुने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए । नगरपालिकामा बालविकास देखि माध्यमिक तहसम्म गरी १४ हजार ५ सय ४३ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेको उनले जानकारी गराए ।


