साउन १० धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ वेलादेवी धामको वेलातालमा डुङ्गा सञ्चालन गरिएको छ । धामको प्रचार प्रसार र पर्यटनको विकासका लागी शनिबार देखि वेलातालमा डुङ्गा सञ्चालन गरिएको हो । धनगढी उप–महानगरपालिकाकी उप–मेयर कन्दकला रानाले शनिवार डुङ्गाको उद्घाटन गरेकी हुन ।
रानाले धनगढी उपमहानगरपालिका भित्रका सांस्कृतिक तथा पर्या–पर्यटनको सम्भावना बोकेका र धार्मिक महत्वका क्षेत्रहरुलाई प्राथमिकताका साथ पालिकाले स्तरोन्नति गरिरहेको बताइन् । नगरभित्र ८४ वटा ताल–तलैयाहरूको पहिचान र नक्साङ्कन गरेको बताउदै उनले तिनको संरक्षण गर्न अतिक्रमण हटाउने प्रयास जारी रहेको बताईन ।
वेलादेवी तालमा डुङ्गा सञ्चालनको सुरुवात धार्मिक, आध्यात्मिक र पर्यटनका हिसाबले महत्वपूर्ण भएको उनले बताईन । उनले मन्दिर र तालको स्तरोन्नतिको लागि पालिकाले अपनत्व लिएर काम गरिरहेको बताईन ।
त्यस्ता क्षेत्रहरूको सबैले अवलोकन र संरक्षण गर्नु पन उनले बताईन । वडा नम्बरं. ११ का वडाध्यक्ष रुपबहादुर कुँवरले स्थानीय सरकार, समुदाय र पर्यटनसँग सम्बन्धित सबै निकायको प्रयासमा मन्दिरको व्यवस्थापन र डुङ्गा सञ्चालन सम्भव भएको वताए ।
वेलादेवी मन्दिर तथा धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले पर्यटन प्रवर्धनमा डुङ्गा सञ्चालनले टेवा पुग्ने बताए । उनले धनगढी उप–महानगरको सहयोगमा एक लाख ५० हजार लागतमा ‘४ सिट’ भएको डुङ्गा खरिद गरिएको बताए । साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको वेलादेवी मन्दिर तथा धार्मिक वन परिसरमा पर्यटक एवम् भक्तजनहरूका लागि व्यवस्थित संरचनाहरूको निर्माण गरिएको उनले बताए ।
पूजा तथा धार्मिक कार्यको लागि शिव र देवी मन्दिर, विवाह, व्रतबन्धको लागि विवाह मण्डप, होमकुण्ड, स्वच्छ खानेपानी तथा शौचालय, वनभोज स्थल र चिल्ड्रेन्स पर्क र गोल घरहरू निर्माण गरेको उनले बताए । धनगढीको मुख्य बजार देखि साढे चार किलोमिटरको दुरीमा वेलादेवीपूर धाम अवस्थित रहेको बताउदै उनले डुङ्गा सयर गरेर पर्यटन पर्वद्र्धन गर्न सबैलाई आग्रह गरे ।
त्यसैगरी वेलादेवीपूर धामका निवर्तमान अध्यक्ष अर्जुनबहादुर खड्काले मन्दिरको विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण गरि अझ व्यवस्थित किसिमले भौतिक संरचनाहरूको निर्माण गर्ने कार्य भईरहेको जानकारी गराए ।


