चैत्र १४ धनगढी । प्रदेश सरकारको लगानीमा बन्दै गरेको कैलालीका तीन वटा सडकको पुल निर्माणको कार्य सुस्त गतीमा भई रहेको छ । सुर्मिनाला पुल, चौमाला पुरानो बजार नदी पुल र अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको पुल निर्माणको कार्य सुस्त गतीमा भई रहेको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का भइ निर्माण कार्य अगाडि बढाइएका तीन वटा पुलको भौतिक प्रगति आधा मात्रै भएको बताईएको छ । बहुवर्षीय आयोजनाका ती पुलहरुको भौतिक प्रगति सन्तोषजनक नदेखिएको पूर्वाधार विकास कार्यालयले जानकारी गराएको छ । कैलारी गाउँपालिका वडा नम्बर–३ सुर्मी नालामा बनिरहेको सडक पुलको दुई पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा भएको छैन ।
२६ मिटर लामोे पुलको चार करोड ९६ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण कम्पनीले तीन करोड ६१ लाख रुपियाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो पुल निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा धनगढीकै थेगिम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।
२०७८ पुस १८ मा निर्माण कार्य पूरा भइसक्नु पर्ने पुलको दुई पटक म्याद थप गर्दा पनि अझै काम अधुरै रहेको छ । त्यसैगरी गौरीगङ्गा नगरपालिका वडा नम्बर–१ र २ जोड्ने चौमाला पुरानो बजार नदीमा बनिरहेको पुलको भौतिक प्रगति ५० प्रतिशत मात्रै रहेको छ । सात करोड २३ लाख ८० हजार रुपैयाँ लागतमा वाइपी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा पाएको छ ।
निर्माण कम्पनीले हालसम्म दुई करोड तीन लाख ४० हजार रुपैयाँ भुक्तानी लिइसकेको जनाइएको छ । पुल निर्माणमा १२ करोड ७३ लाख ६८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । त्यसैगरी, गौरीगङ्गा नगरपालिका वडा नम्बर–५ र ९ जोड्ने अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको पुलको भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको छ । यो पुल निर्माणको ठेक्का पनि वाइपी कन्स्ट्रक्सनले पाएको छ ।
आठ करोड ९५ लाख ८२ हजार लागत अनुमान गरिएको पुलको ठेक्का पाँच करोड २८ लाख रुपैयाँमा भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद खड्काले बताए ।
यो पुल निर्माणमा हालसम्म तीन करोड ७९ लाख ५४ हजार रुपैयाँ बजेट खर्च भइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा कैलालीमा प्रदेश सरकारको लगानीमा तीन वटा पुल आयोजना कार्यान्वयनको क्रममा रहेको इन्जिनियर खड्काले बताए । अरु पुलको काम सकिएको उनले बताए ।


