फागुन १५ धनगढी । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएकाले विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताए । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताए ।
उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनु पर्नेमा आफ्नो जोड रहेको बताए । उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरु मिलेको बताउदै विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी भएको बताए । जनताले सेवा सहज होस् भन्ने चाहेका छन ।
स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुप¥यो भन्ने जनचाहना छ त्यसैले विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नु पर्छ ,’ उपप्रधानमन्त्री सिंहले भन्नु भने ।
चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरु मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।
उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकाले अहिले नेपाली कांग्रेस र नेकपा एमाले सहित अरु दलहरुलाई पनि मिलाएर सरकार बनेको बताए । उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यक्ताको प्राथमिकिकरणका आाधरमा योजनाहरु बनाउने बताए ।
संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनु पर्ने बताउदै उनले लामो संघर्षबाट प्राप्त अधिकारहरुलाई सुरक्षित गर्न आवश्यक कानूनहरु बनाउन सरकार लागिरहेको बताए ।
अधिकार सँगसँगै जिम्मेवारी पनि विर्सन नहुने बताउदै सिंहले वर्तमान सरकार आर्थीक समृद्धि र विकासमा केन्द्रीत भइरहेको बताए । सरकारले नागरिकको चाहना अनुसार काम गरि रहेको बताउदै उनले जनतालाई ढुक्क हुन आग्रह गरे ।


