फागुन ०८ धनगढी । सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालकै गौरवको आयोजना कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी अघी बढेको बताएका छन । बिहिवार प्रेस चौतारी, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी अघी बढेको बताएका हुन ।
विश्वविद्यालयको चर्चा हुनु स्वभाविक रहेको बताउदै उनले नीति–कार्यक्रम र बजेटमा गेटालाई ल्याएको जानकारी गराए । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजना र देशकै महत्वपूर्ण आयोजनाले चर्चा पाउनु सस्तो लोकप्रियता नभएको बताउदै उनले प्रधानमन्त्रीले मन्त्रालयहरूलाई प्रक्रियाको विषयमा निर्देशन दिएको बताए । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सरकारले तयारी गरिरहेको बताउदै उनले विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलेले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको बताए ।
सेती प्रादेशिक अस्पताल गाभेर भए पनि विश्वविद्यालय सञ्चालन हुने बताउदै मन्त्री भण्डारीले सरकारको धारणा सस्तो लोकप्रियताका लागि नभएको बताए । कैलालीको गेटामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले झन्डै सात अर्बका भौतिक संरचनाहरू तयार गरी सकेको भए पनि विश्व विद्यालय सञ्चालनको ऐन नभएकाले समस्या भएको बताउदै मन्त्री भण्डारीले मन्त्रालयले ऐन प्रतिनिधि सभामा पठाएको जानकारी गराए । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताए ।
संसदको जारी अधिवेशनमै अध्यादेश पेश गरेर पारित गर्ने तयारी रहेको बताउदै उनले संसदको अधिवेशन सुुचारु भएकाले थुुप्रै विद्येयक प्रस्तुत गर्दै पारित पनि भएको बताए । सरकारले ल्याएको अध्यायदेशले पनि संसदमा प्रवेश पाउने बताउदै मन्त्री भण्डारीले ‘सहमतिमै अध्यादेश पारित हुने बताए । अध्यादेशले सरकारलाई प्रभावकारी कार्य सम्पादन र सुुशासनको प्रत्याभूति दिलाउने जस्ता महत्वपूर्ण विषय समेटेको बताउँदै मन्त्री भण्डारीले अहिले देखिएका जटिलता अन्त्य हुने बताए ।
सरकारले अहिले सम्पादन गरिरहेका कामहरुको परिणाम निकाल्ने कुरामा थुप्रै जटिलता र समस्याका चाङहरु भएकाले परिणाम निकाल्न निश्चित कोर्ष लिने मन्त्री भण्डारीले बताए । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र सुशासनलाई प्रत्याभूति गर्ने थुुप्रै विषय अध्यादेशले अघि सारेको बताउदै उनले निजी क्षेत्रले स्वागत गरेको बताए ।’
सरकारको अर्ध वार्षिक समिक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नु पर्ने अवस्था नभएको बताउदै मन्त्री भण्डारीले सुदूरपश्चिमको विकासका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरु एक ठाउँमा उभिएको बताए । सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर दूरपश्चिमका महत्वपूर्ण विकास, निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको उनले बताए ।
सुदूरपश्चिमबाट सरकारमा सहभागी सबै मन्त्री, माननीय र नेताहरुले प्रधानमन्त्रीलाई भेटेर प्रदेशको विकाससँग जोडिएको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्वपूर्ण छलफल भएको उनले बताए । अधुरा कामलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको भण्डारीले बताए । प्रदेशको राजधानी निर्माणको काम पनि चाडै अघि बढ्ने मन्त्री भण्डारीले बताए ।


