फागुन ०८ डडेल्धुरा । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्वविद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमा आयोजित प्रजातन्त्र दिवसको अबसरमा आयोजीत कार्यक्रममा बोल्दै उनले अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका हुन ।
अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी भन्दा पूर्वका अन्य देवलहरू भन्दा फरक रहेको उनले बताए । अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रुपैया विनियोजन गरेपछि पुरातत्त्व विभागको टोलीले पहिलो पटक अजयमेरुकोट क्षेत्रमा उत्खनन र अध्ययन गरिरहेको बताईएको छ । ज्ञवालीले कलाकृति र निर्माणशैली फरक भएका कारण यस क्षेत्र कत्युरी राजवंशको प्रभावमा रहेको प्रमाणित भएको बताए ।
मण्डपको बिचमा दायाँ–बायाँ देवलहरू निर्माण गर्ने शैली अपनाइएको बताउदै उनले बैठक कक्ष र नाउलाहरू विशिष्ट किसिमका भएकाले नेपालकै उत्कृष्ट कलाकृतिको पहिचान दिएको बताए । पुरातत्त्व विभागले यसको ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै २०६५÷०६६ सालमै यसलाई ‘क’ वर्गमा सूचीबद्ध गरिसकेको बताउदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका अन्य सम्पदाहरू भन्दा अजयमेरुकोट क्षेत्र अझ महत्त्वपूर्ण रहेको बताए । अजयमेरुकोट क्षेत्र १३औँ र १४औँ शताब्दीका कोट देखि किल्ला सम्मको रूपले चिनिन्छ ।
यस क्षेत्रमा दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा टावरहरू, रानी गुफा, कुवा तथा राजदरबारसँग सम्बन्धित विभिन्न संरचनाहरू रहेको पुरातत्त्व विभागको अध्ययनले देखाएको छ ।
हाट गाउँमा रहेको ढुङ्गे देवलहरू, मण्डली, नाउलाहरू पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण छन् । अजयमेरुकोट सार्वजनिक सम्पत्ति भए पनि हाट गाउँका ढुङ्गे देवलहरू निजी स्वामित्वमा छन् । पुरातत्त्व विभागले विभिन्न अभिलेखहरू अध्ययन गरिरहेको छ ।
जसमा निरय पाल र नागी मल्लको अभिलेखहरू फेला परेको बताईएको छ । हालसम्मको उत्खननमा अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार रहेको हुनसक्ने देखिएको छ । भुईँ तलामा सात कोठा, गल्ली, ढुङ्गे सिँढी, र माथिल्लो तलामा थप कोठाहरू रहेको अनुमान गरिएको छ । मुख्य दरबार क्षेत्रमा अन्य १० वटा ढुङ्गे संरचनाहरू समेत फेला परेका छन् । ज्ञवालीले अजयमेरुकोट विश्व सम्पदाको सम्भावित सूचीमा सूचिकृत गर्न योग्य भएको बताए ।
दैलेखको घुर्तिघाह १९९६ मै विश्व सम्पदा सूचीमा परेकाले अजयमेरुकोटले झन् प्राथमिकता पाउनु पर्ने उनले बताए । पुरातत्त्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमै थप अध्ययनका लागि टोली आउने तयारी भइरहेको उनले बताए । सूचिकरणले पर्यटन, संरक्षण, तथा ऐतिहासिक अनुसन्धानलाई नयाँ उचाइ दिने उनले बताए ।


