माघ ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– १२ ले आमा समुहका महिलाहरुलाई मौलिक पोशाक वितरण गरेको छ । वडा कार्यालयले मौलिक संस्कृति जर्गेना गर्ने उदेश्यले आमा समुहलाई सुदूरपश्चिमको मौलिक पोशाक गुन्यु चोलो लगायतका सामग्री वितरण गरेको हो ।
वडाध्यक्ष भीम बहादुर खड्काले वडामा सुदूरपश्चिमको मौलिक संस्कृति जर्गेना गर्ने उद्देश्यले आमा समुहहरुलाई गुन्यु चोलो लगायतका पोशाकहरु वितरण गरिएको बताए । वडाले वडामा रनपुतला खेल्ने ३० जना महिलाहरुलाई गुन्यु, चोलो, पछ्यौरा, पोते र डोरी वितरण गरेको बताए ।
वडाध्यक्ष खड्काले चालु आर्थिक वर्षमा वडाले उक्त सामग्री वितरणका लागि १ लाख रुपैया विनियोजन गरेको र सोही रकम बराबरका सामग्रीहरु वितरण गरिएको बताए । वडाले शुक्रबार सामग्रीहरु महिलाहरुलाई हस्तान्तरण गरेको बताउदै उनले महिलाहरुले शनिबार रनपुतला खेल्ने कार्यक्रम पनि वडामा रहेको जानकारी गराए ।