माघ ०४ धनगढी । मातृभूमि जागरण अभियानका अभियन्ता भीम रावल एमालेबाट निष्कासित भए पछि पहिलोपटक सुदूरपश्चिम आएका छन । रावल शुक्रबार बिहान कैलालीको धनगढी आएका हुन् । धनगढी विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका समेत गरेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको थियो । रावलले काठमाडौंबाट धनगढी सम्म एमाले नेता कर्ण थापासँगै यात्रा गरेका थिए । भीम रावलले नयाँ पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरिसकेका छन् ।
उनले आफ्नो नेतृत्वमा गठन हुन लागेको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहने जानकारी दिएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरूले उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको छलफलबारे प्रश्न गरेका थिए । रावलले सबै इमानदार देशभक्तहरूलाई एकजुट गर्दै राष्ट्रको हितका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन ।
उनले ठूला राजनीतिक दलहरू गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्रियता जोगाउन नयाँ सोच र नेतृत्वको खाँचो भएको बताए । देशका लागि इमानदार देशभक्तहरू एक ठाउँमा आउँछन् भन्नेमा म विश्वस्त छु,” उनले भने । रावलको सुदूरपश्चिम आगमन र नयाँ दल गठनको तयारीले आगामी राजनीतिक परिदृश्यमा परिवर्तन ल्याउने संकेत देखिएको छ ।