भदौ ०६ धनगढ । कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागी ८ करोड ६२ लाख ५० हजार ७ सय ९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार ७ सय ९ रुपैयाँमा वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो ।
सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि ८ करोड ६२ लाख ५० हजार ७ सय ९ रुपैयाँमा सम्झौता गरिएको जानकारी गराए । धनगढी पार्कका नामले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको उनले जानकारी गराए ।
निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सम्मपन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सूचना अधिकारी कलौनीले जानकारी गराए । धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गरी रात्रिकालीन बजार सहितको उद्यान निर्माणको परिकल्पना गरेकोमा हाल पार्क क्षेत्रमा बालबालिकाका लागि खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमीङ्ग पुल, जेष्ठ नागरिकले आराम गर्ने स्थान, युवाहरूका लागि सांस्कृतिक क्षेत्र, किशोर–किशोरीका प्रतिभाका लागि कार्यक्रम स्थल र उद्यानको बाहिरी क्षेत्रमा सटरहरू हुने बताइएको छ ।
सटरहरूमा स्थानीय संस्कृतिका पोसाक तथा सामानहरू बिक्री गर्न सकिने बताईएको छ । उद्यानलाई स्तरीय तथा आधुनिक रुपमा निर्माण गर्न नेशनल÷पवन जेभीले निर्माण सामाग्रीको ढुवानी गर्न थालीसकेको छ । उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना रहेको बताईएको छ । डिभिजनल इन्जिनियर दिजराज भट्टले सहरी विकासले पहिलो चरणमा उद्यानमा संरचना निर्माणका लागि ठेक्का गरेको बताउदै असोजबाट काम सुरु हुने बताए ।
३५ करोडको लागत अनुमान गरिएको जानकारी गराउदै उनले केही काम सहरी विकासले र बाँकी काम धनगढी उपमहानगरपालिकाले गर्ने उनले जानकारी गराए । प्रदेश सरकारबाट सहयोग माग गरेको बताउदै उनले अन्य काम नगर विकास कोषबाट ऋण सहयोगको प्रस्ताव गरेको जानकारी गराए ।
वीरेन्द्र–ऐश्वर्य उद्यानको बाहिरी क्षेत्रमा समेत ठुला कार्यक्रम सञ्चालनका लागि स्थल तयार गरिने बताउदै उनले पार्कको दक्षिण क्षेत्रमा सुन्दर स्टेज निर्माण गरिने बताए । साँझको समयमा कार्यक्रम सञ्चालन गर्न मिलने वातावरण उपमहानगरपालिकाले तयार गर्न लागेको जानकारी गराउदै उनले उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने योजना तयार बनाईएको जानकारी गराए ।


