असार १० कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुईजना राना महिलाहरुले परम्परागत पहिरन सिलाउदै घर खर्च चलाउदै आएकी छन । लालझाडी गाउपालीका वडा नम्बर–४ खल्लाजाइँकी मन्तुरा राना र डाँडाजाइँकी घुम्नी रानाले परम्परागत पहिरन सिलाउदै घर खर्च चलाउदै आएकी हुन ।
राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनीहरुले आफ्नो परिवारको घरखर्च चलाउदै आएकी हुन । दोदा नदीको बगरमा बगर खेती पनि गरेकी ४६ बर्षीय मन्तुरा रानाले तरकारी हेरचाह गर्न बनाएको छाप्रोमा बसेर फुर्सदको समयमा पहिरन सिउने काम गर्दै आएकी हुन ।
लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको बताउदै उनले परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दै गएको बताईन । कुनै कार्यक्रम, चाडबाडमा मात्रै परम्परागत लुगा लगाउँने गरेको बताउदै उनले पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोमा खुसी लागेको बताईन । रानाथारु समुदायले लगाउने अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको बताउदै उनले कपडामा फूलजस्तै देखिने फुर्का लगाउनु पर्ने बताईन ।
आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार गर्ने गरेको उनले जानकारी गराईन । आमासँग लुगा सिलाउन सिकेको बताउदै उनले अहिले त्यहीँ सीपले गुजारा चलि रहेको बताईन । एक जोर लुगा तयार गर्न एक महिना भन्दा बढी समय लाग्ने गरेको बताउदै उनले लुगा आफैँले ल्याएर तयार गरेको आठ हजार लिने गरेको बताईन ।
त्यसैगरी लुगा किनेर तयार पारेको पहिरनको २० हजार सम्म लिने गरेको उनले बताईन । त्यसैगरी डाँडाजाइँकै घुम्नी रानाले पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम गर्दे आएकी छिन । सानैमा आमा र हजुरआमाबाट पहिरन सिलाउने सीप सिकेकी बताउदै तत्कालीन समयमा हातले पहिरन सिउने गरिएको बताईन ।
हातले पहिरन बनाउन निकै बढी समय लाग्ने गरेको स्मरण गर्दै उनले अहिले मेसिनको प्रयोग हुन थाले पछि छोटो समयमै लुगा तयार गर्न सकिने बताईन । वर्षमा दश जोर लुगा सिलाउँने गरेको बताउदै उनले बाल–बालिकाको पठन–पाठन देखि घरखर्च राम्रैसँग चलेको बताईन । पहिरन बनाउन गाउँका मानिस घरमै आउने गरेको उनले बताईन ।
पहिरन बनाउन आवश्यक पर्ने कपडा देखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाउदा समस्या हुने गरेको उनले बताईन । बेलौरीमा खोजेको जस्तो सबै सामान नपाइँने बताउदै उनले महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्ने बताईन । सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्ने उनले जानकारी गराईन ।


