भाद्र २० दैलेख । नागरिकतामा लेखिएको अपमानीत नामले पीडा भोग्दै आएका दैलेखको दुल्लू नगरपालिका वडा नम्बर–१ दुल्लू बजारका ३९ वर्षीय फणिन्द्र बादीले अहिले हिनताबोधबाट मुक्त भएको महशुस गरेका छन । अपमानीत नाम फ्याउरे बादीलाई सच्याएर उनले फणीन्द्र बादी नामको नागरिकता प्रतिलिपी लिए पछि उनले हिनताबोधबाट मुक्त भएको महशुस गरेका हुन । त्यतीबेला फ्याउरेनाम नराखिदिन आग्रह गर्दा पनि तत्कालिन दुल्लू गाविस सचिव डिलबहादुर थापाले गरेको सिफारिसका आधारमा नागरिकतामा ‘फ्याउरो बादी’ लेखिएको उनले बताए । त्यसबेलाका प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले प्रमाणित गरेको नागरिकता २०६० जेठ ९ गते जारी भएको थियो ।
गत महिना मात्र भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविराम कामीको नाम पनि यस्तै अपमानित रहेको भन्ने समाचार सार्वजनिक भए पछि देशभरको अरु नागरिकहरुका पनि अपमानित नामहरु सच्याउनु पर्ने सन्दर्भ बहस चले पछि गृहले त्यस्ता नामहरु सच्चयाउन निेर्देशन गरेको थियो । २०७९ साउन २३ गते यस्ता अपमानजनक नाममा नागरिकता जारी नगर्न र पहिले जारी भएका नागरिकता बाहकले सच्याउन चाहेमा सच्याइदिन गृह मन्त्रालयले परिपत्र गरेपछि फणिन्द्र बादीको अहिले नाम परिवर्तन भएको हो । गाउँसमाजका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्ने जस्ता काममा नागरिकता जरुरी पर्दा पनि नागरिकता देखाउन अफ्ठ्यारो लाग्ने गरेको बताउदै उनले नागरिकतामै ‘फ्याउरो बादी’ लेखिएको कारण जिस्काउनलाई पनि चिया पसल र चौतारामा नाम सोध्ने गरेको बताए ।
नाम बताउदा सबै गलल् हास्ने गरेको समेत फणिन्द्रले बताए । उनले अव त जसले सोधे नि निर्धक्क फणिन्द्र बादी भन्नेर जवाफ दिने गरेको बताए । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले गृह मन्त्रालयको परिपत्र अनुसार पहिले लेखिएको अपमानबोधक नामको ठाउँमा ‘फणिन्द्र बादी’ लेखेर ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति सबै पुरानै कायम गरेर नागरिकताको प्रतिलिपी दिएको बताउनु भयो । ‘फणिन्द्र बादी’ले पाएको प्रतिलिपीमा सुरु नागरिकता लिंदा लेखिए अनुसार नै उनको जन्म मिति २०४० जेठ २ गते, नागरिकता लिएको मिति २०६० जेठ ९ गते, जारी गर्ने प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवाली भनि पुरानो विबवरण सारिएको छ । अभिलेख अनुसार उनले पहिलो प्रतिलिपी २०७५ वैशाख २५ गते पुरानै नाममा लिएको र पहिलेको अपमानबोधक नामको सट्टा ‘फणिन्द्र बादी’ नाम जनाएर दोश्रो प्रतिलिपी आइतवार २०७९ भदौ १९ गते सच्याइएको नाम प्रमाणित गर्ने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल उल्लेख गरिएको छ ।
अपमानित नाम सच्याउन गृह मन्त्रालयको परिपत्र अनुसार देशभरमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय दैलेखले २०७९ भदौ ५ गते एकै दिन दुई जना व्यक्ति भगवतीमाई गाउँपालिका वडा नम्बर–३ का ६२ वर्षीय कविराम कामी र भगवतीमाई गाउँपालिका वडा नम्बर–५ कट्टीका ४४ वर्षीय कर्णबहादुर विकलाई पहिले लिएको नागरिकमा लेखिएको अपमानबोधक नामको सट्टा नाम सच्याइएर दिएको थियो ।
पहिलेको अपमानबोधक नामको सट्टा ‘फणिन्द्र बादी’ नाम जनाएर प्रतिलिपी पाउने उनी दैलेखको तेश्रो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
परिपत्र अनुसार बागलुङ्गको ताराखोला गाउँपालिका वडा नम्बर–४ तारागाउँकी ५६ वर्षीया सावित्री कामीलाई अघिल्लो अपमानित नामको सट्टा सच्याएर प्रतिलिपी दिइएको थियो । २०७९ भदौ ६ गते बागलुङ्गका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले उक्त प्रतिलिपी दिएका थिए । दैलेखमा ३, बागलुङ्गमा १ समेत देशभर अहिलेसम्म ४ वटा मात्र अपमानबोधक नाम सच्याइएका छन् । नाम सच्याउन अपमानबोध भएको भनि आफू बसेको गाउँपालिका वा नगरपालिकाको वडाको सिफारिस, सर्जिमिन समेत नागरिकताको प्रतिलिपी अनुसूची फाराम, सक्कल नागरिकता र व्यक्तिको निवेदन समेत जिल्ला प्रशाासन कार्यालय जानुपर्ने प्रक्रिया तोकिएको छ ।
आफू बसेको गाउँपालिका वा नगरपालिकाको वडाको सिफारिस, सर्जिमिन समेत नागरिकताको प्रतिलिपी अनुसूची फाराम, सक्कल नागरिकता र व्यक्तिको निवेदन समेत प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी मार्फत बुझविस्तार गरी प्रतिलिपी दिने गरिएको छ । अपमानबोध भएको भनिएको नाकरिताको प्रमाणपत्रमा उल्लेखित नामले सम्वन्धित व्यक्तिको विषयमा कुनै फौजदार कसूरमा मुद्दा चलेर फरार रहेको, कैद सजाय असुल गर्नुपर्ने वा यस्तै अघिल्लो नागरिकता अनुसार कुनै असूल उपर गर्नुपर्ने भए सोको दायित्व समेत जाने गरी नाम सच्याउन सम्वन्धी परिपत्रको छुट्टै व्याख्या पठाइएको गृह मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले बताए ।
अपमान बोध भएका नाम सच्याइसकेपछि श्रीमान–श्रीमति, छोराछोरी समेत परिवारजनको पनि कसरी बदल्ने भनी गृह मन्त्रालयले छुट्टै परिपत्र गरेको छ । त्यस अनुसार दैलेखमा कविराम कामीको एक छोराको नागरिकतामा बुबाको नाम कोलममा नयाँ सच्चिएको र कर्णबहादुर विकको श्रीमतिको नागरिकतामा पतिको नाम सच्याइएको छ । नागरिकता वाहकको नाम सच्याइसके पछि मतदाता नामावली, बैंक खाता, राष्ट्रिय परिचपपत्र, राहदानी समेत सबै ठाउँमा सच्याउने विधि र प्रक्रिया पनि गृह मन्त्रालयको परिपत्र अनुसार सच्याउने काम भइसकेको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।


