साउन १८ सुर्खेत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कृषि विकास कार्यालयका प्रमुखको कार्यकक्षमै कर्मचारी सहितको मदिरा पार्टी गर्दै गर्दा फेला पारेका छन ।
जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुखको कार्यकक्षमै अन्य कर्मचारीहरुको मदिरा पार्टी चल्दै गर्दा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले फेला पारेका हुन । बेलुका सात बजेको समयमा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहित प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकहरुले कार्यकक्षमै मदिरा सेवन गरिहेको अवस्थामा फेला पारेका हुन् ।
कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई आग्रह गरेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले जनाएको छ । नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले सरकारी कार्यालय भित्र कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका उनिहरुलाई कारबाहीको माग गरिएको जानकारी गराए ।
कार्यालयमा मदिरा सेवन गरिरहेको नभई आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने घटनाको छानबिन गरेर आवश्यक कारवाही गरिने बताउनु भएको छ ।


