साउन ०९ अछाम। अछाममा पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर –२ भुलुमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो । आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी गराए ।
त्यसैगरी ६५ वर्षीया नैना विष्ट घाइते भएको र उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको बताईएको छ । उनको अवस्था सामान्य रहेको पनि बताईएको छ । त्यसैगरी पहिरोमा पुरिएर केही चौपायाको मृत्यु भएको प्रहरीले बताएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।


