बैशाख १७ धनगढी । सुदूरपश्चिमका भन्सार कार्यालयहरू ठप्प भएका छन् । सरकारले विदेशबाट आयात हुने सामानमा अधिकतम खुद्रा मूल्य एमआरपी लेबल लगाउन अनिवार्य गरेपछि भन्सार कार्यालयहरू ठप्प भएका हुन । भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत तथा सूचना अधिकारी प्रकाश तिमिल्सिनाले एमआरपी उल्लेख नभएका सामानको भन्सार जाँचपास रोकिएको जानकारी गराए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत्र ३० मा पैठारी गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य अनिवार्य गर्ने सम्बन्धमा परिपत्र गरेको बताउदै तिमिल्सिनाले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिनको समय सीमा पनि दिइएको जानकारी गराए । त्यो सीमा वैशाख १५ मा सकिएपछि एमआरपी अनिवार्य लागू भएको बताउदै उनले जसका कारण जाँचपासको काम प्रभावित भएको बताए ।
त्यसैगरी कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले पनि कार्यालयमा कामकाज ठप्पजस्तै भएको बताए । ‘पैठारीकर्ताहरूले यसअघि नै पैठारी गरेका तथा स्टकमा रहेका वस्तुहरूमा एमआरपी उल्लेख नभएको बताउदै उनले ती सामान जाँचपास नभए पछि भन्सार कार्यालय ठप्पजस्तै भएको बताए । उपभोक्ता संरक्षण ऐनमा विदेशबाट आयात गरिएका सामग्रीका हकमा आयातकर्ताले अनिवार्य नेपाली वा अंग्रेजी भाषामा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको उनले बताए ।
एमआरपी अनिवार्यको निर्णय कार्यान्वयन भएपछि भन्सार कार्यालयबाट आयात रोकिने र त्यसले बजारमा मालवस्तुको अभाव हुने सम्भावना पनि बढेको छ । ‘एमआरपी उल्लेख भएका सामानको जाँचपासमा कुनै समस्या नभएको कैलाली भन्सारका सूचना अधिकारी तिमिल्सिनाले बताए । एमआरपी उल्लेख नभएका सामानको भन्सार जाँचपास रोकिएको हुँदा बजारमा पनि मालवस्तुको अभाव हुने देखिएकाले तत्कालको समस्या समाधानका लागि सरकारले केही निकास निकाल्ने विश्वास गरिएको बताए ।
एमआरपी अनिवार्यको निर्णयले राजस्व संकलनमा पनि प्रभाव पर्ने बताउदै तिमिल्सिनाले दीर्घकालिन रूपमा यो निमयले राजस्व संकलनमा पनि राम्रै योगदान पु¥याउने विश्वास गरिएको बताए । भन्सार कार्यालयका अनुसार भन्सार बिन्दुमा स्वघोषणा गर्ने र सामान पैठारी भइसके पछि एमआरपी लेबल लगाउने व्यवस्था गरिए जाँचपासमा समस्या नहुने भएको छ । भन्सार विभागले वाणिज्य मन्त्रालयलाई सोही व्यवस्था कार्यान्वयनका लागि पत्राचार पनि गरेको बताइएको छ ।


