जेठ १२ धनगढी । कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज रोग विरुद्धको सुइँको अभाव भएको छ । नियमित रुपमा आपूर्ति हुन नसक्दा तराइका जिल्लामा रहेका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव भएको हो । नेपाल सरकारले सरकारी अस्पतालमा रेबिज विरुद्धको सुइँ निःशुल्क उपलब्ध गराउँदै आएको भए पनि डेढ सातायता तराईका धेरै जसो अस्पतालहरूमा रेबिज सुइँको अभाव भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठले विगत एक साता देखि अस्पतालमा रेबिजको सुई उपलब्ध नभएको बताए ।
त्यसैगरी महाकाली अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले पनि विगत एक साता देखि रेबिज सुइँको अभाव भएको बताए । गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत सञ्चालित शिक्षण अस्पतालमा पनि पनि रेबिज सुइको अभाव भएको छ । अस्पतालका प्रवक्ता नैन सिंह कार्कीले एक साता देखि रेबिजको सुइँ उपलब्ध नभएको बताए । त्यसैगरी गोदावरीको मालाखेती अस्पतालमा पनि डेढ साता देखि रेबिज सुइँको अभाव भएको छ ।
वैशाखमा मात्रै २ सय ६० जनाले रेबिजको सुई लगाएको उक्त अस्पतालमा हाल रेबिजको सुई अभाव हुँदा दैनिक जसो मानिसहरू फर्काउनु परेको अस्पतालकी सूचना अधिकारी सुनिता बोहराले बताइन् । उनले रेबिज सुइँको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको भए पनि उपलब्ध नभएको बताइन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रमा स्टक सकिएकाले अस्पतालहरूमा पठाउन नसकिएको बताए । उनले आपूर्ति व्यवस्थापन केन्द्रमा २० दिन अघि नै स्टक सकिएको बताए ।
उनले रेबिज सुई सङ्घीय सरकारबाट हुने आपूर्तिबाट परिपूर्ति नहुने बताउदै प्रदेश सरकारबाट खरिद गरिएको भए पनि सबै स्टक सकिएको बताए ।‘पहिलो नम्बरमा खरिद व्यवस्थापन सङ्घीय सरकारको भएको बताउदै उनले सङ्घीय सरकारको नियमित आपूर्तिले नपुग्ने भएकाले यसपालि प्रदेश सरकारले पनि विशेष कार्यक्रम राखेको बताए । प्रदेशबाट विनियोजित ७० लाखको टेन्डर भएर १६ हजार भाइल किनेका जानकारी गराउदै उनले त्यो सबै सकिए पछि हाल अभाव भएको बताए । संघबाट सप्लाई नहुँदा र प्रदेशको स्टक सकिएकाले अभाव भएको उनले बताए ।
बर्षभरिमा ४५ हजार भन्दा माथि भाइल आवश्यक पर्ने बताउदै उनले संघमा खरिद प्रक्रियामा ढिलाइ हुँदा आपूर्ति रोकिएको आफूहरूले जानकारी पाएको बताए । सङ्घीय सरकारले सम्बन्धित निकायले खरिद गरेर आपूर्ति गर्न परिपत्र गरेको उनले बताए । ‘संघमा एक पटक खरिद प्रक्रिया सम्पन्न नहुँदै क्यान्सिल भएको बताउदै उनले नियमित आपूर्ति हुन नसकेकाले सम्बन्धित निकायले खरिद व्यवस्थापन गरेर चलाउन हुन भनेर परिपत्र गरिएको बताए ।
परिपत्र अनुसार अस्पतालले पनि आफ्नो आन्तरिक श्रोतबाट खरिद गर्न सक्ने उनले जानकारी गराए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने बजेट नभएकाले तत्काल खरिद गर्न सक्ने अवस्था नरहेको बताएको उनले जानकारी गराए । रेबिज सुई लगाउन नआउने पहाडी जिल्लाका कुनै अस्पतालहरूमा स्टक रहेको हुन सक्ने भए पनि तराइका जिल्लाहरूमा भने अभाव भएको उनले बताए । कुकुर बिरालोले मानिसलाई टोकेपछि रेबिज विरुद्धको सुई लगाउने गरिन्छ ।
हाल सरकारी अस्पतालहरूमा निःशुल्क पाइने यो सुइँको अभाव हुँदा बिरामीहरू निजी अस्पतालहरूमा महँगोमा सुई लगाउन बाध्य छन् । यो सुई निजी अस्पताल, मेडिकलहरूमा पनि सीमित ठाउँमा मात्रै ५ सय देखि ७ सय रुपैयाँमा पाइने गरेको छ ।


