जेठ १२ दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हाल सम्म १ सय ३८ जनाले अनुमति पत्र लिएका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम साता देखि अनुमति पत्र वितरण सुरु गरेकोमा सोमबारसम्म १ सय ३८ जनाले अनुमति पत्र लिएका हुन ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी अरुण चौधरीले हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्र भित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ भएको बताए । सङ्कलनकर्ताको सहजताका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय सहित जिल्लाका ११ वटा विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको उनले बताए ।
संरक्षण क्षेत्रले सङ्कलनकर्ताको भौगोलिक अवस्था अनुसार तीन प्रकारका परिचय पत्र र शुल्क निर्धारण गरेको उनले जानकारी गराए । संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि ‘निलो कार्ड’ बाफत प्रतिव्यक्ति ५ सय रुपैया, दार्चुला जिल्ला भित्रका अन्य नागरिकका लागि ‘पहेँलो कार्ड’ बाफत दुई हजार रुपैया र जिल्ला बाहिरका नागरिकका लागि ‘रातो कार्ड’ बाफत तीन हजार रुपैया शुल्क तोकिएको उनले जानकारी गराए ।
यार्सागुम्बा ओसार पसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सागुम्बा पाइने पाटन प्रत्येक वर्ष जेठ १५ गते देखि असार १५ गते सम्म मात्रै खुला रहने कानुनी व्यवस्था रहेको छ । यद्यपि पाटन खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्र भित्रका केही स्थानीयवासी वैशाख महिना देखिनै हिमाली क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलनमा जुटिसकेका छन् ।
दार्चुलाका लोलु, अपीफेद, सतगङ्गा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमति पत्र नलिई अवैध रूपमा यार्सागुम्बा तथा अन्य बहुमूल्य जुडिबुटी सङ्कलन नगर्न तथा कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ ।


