जेठ १२ धनगढी । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा निर्माण व्यवसायीबीच झगडा हुँदा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–१ सुखडस्थित दहित होटल एण्ड रेष्टुरेन्टमा आइतबार राति करिब १२ बजे मदिरा सेवन पछि भएको झगडामा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक जानकारी अनुसार निर्माण व्यवसायी तथा अन्य व्यक्तिहरूबीच सामान्य विवादले उग्ररूप लिएपछि कुटाकुटको अवस्था सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर–५ का ४८ वर्षीय निर्माण व्यवसायी शिव कुँवर, २६ वर्षीय सनेश थापा, घोडाघोडी नगरपालिका वडा नम्बर–८ का ३२ वर्षीय लालबहादुर चौधरी, सोही नगरपालिका वडा नम्बर–१० का ३३ वर्षीय सुरेश चौधरी र बर्दगोरिया गाउँपालीका वडा नम्बर–५ का २७ वर्षीय राम भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
सुखडका निर्माण व्यवसायी धनन्जय कठायत सहितका व्यक्तिहरू होटलमा खाजा खाइरहेका बेला विवाद चर्किएको बताइएको छ । झडपका क्रममा कठायतमाथि कुटपिट भएको र प्रारम्भिक चरणमा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार मदिरा सेवन पछि उत्पन्न विवाद नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत केही व्यक्तिबाट दुव्र्यवहार भएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


