जेठ ०८ धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि तीनदलीय राजनीतिक समीकरण बन्न सक्ने संकेत गरेका छन् । कैलालीको धनगढीमा भएको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले र नेकपाबीच सत्ता समीकरण हुन सक्ने संकेत गरेका हुन ।
नेकपा सुदूरपश्चिम प्रदेशका एक जना सांसदले मधेश सरकारमा तीन दलीय समीकरण भएको विषय उठाउँदै प्रचण्डले सुदूरपश्चिम प्रदेशमा त्यस्तो गर्न सकिन्छकी भन्ने विषयमा राय मागेको बताए । सुदूरपश्चिम प्रदेशका अधिकांश सांसदहरूले तीन दल मिलेर सरकार चलाउँदा राम्रो सन्देश नजाने बताएको उनले जानकारी गराए । बैठकमा प्रचण्डले तीन दलीय समीकरणका लागि कांग्रेस नेतृत्वसँग काठमाडौं फर्किएर निर्णायक छलफल हुने बताएको उनले जानकारी गराए ।
पार्टी संगठन र संसदीय दललाई थप एकताबद्ध बनाउन उनले निर्देशन दिएको पनि बताइएको छ । असहमति र विवादलाई संवाद तथा छलफल मार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उनले दलको निर्णय र विधान भन्दा बाहिर जान खोजे कारबाही समेत हुनसक्ने चेतावनी समेत दिएको बताइएको छ । बैठकमा केही सांसदले साविक दलबाट समायोजन भएका केही सांसदले अझै पार्टी एकतालाई पूर्ण रूपमा स्वीकार नगरेको अवस्था रहेको बताएका थिए ।
जवाफमा प्रचण्डले समस्या तत्काल समाधान गर्नुपर्ने र आवश्यक परे केन्द्रले हस्तक्षेप गर्न सक्ने संकेत गरेका थिए । संसदीय दलका नेता खगराज भट्टले प्रदेशसभाको अंकगणित र नेकपाको अवस्थाबारे जानकारी गराएका थिए । तीन दलको एकता पछि सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दल बनेको छ । बैठकमा प्रचण्डसँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरु भीम रावल र नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


