बैशाख १७ धनगढी । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्य भन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबार देखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरे पछि किसानहरु खुसी भएका हुन । कम्पनीले बुधबार देखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो ।
यसअघि मङ्गलबार देखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी गराए । “सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ९ सय ४५ रहेको छ ।
खाद्यकम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल चार हजार २ सय ५० मा गहुँ खरिद गर्न लागेको उनले बताए । बढी मूल्य पाए पछि किसान खुसी भएका छन् ।
यसरी समर्थन मूल्यभन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएपछि किसान खुसी भएका हुन । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुगेका योगेन्द्र साउँदले अन्य ठाउँको भन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएको बताए । केही किसानले सस्तोमा यसअघि नै गहुँ बेचिसकेको बताउदै उनले आफुले राम्रो मूल्य पाएको बताए ।
जोशीपुर गाउँपालिका वडा नम्बर–६ महादेवलीका क्रिमलाल डङ्गौराले पनि खाद्यमा गहुँ बेच्न पाउँदा खुसी लागेको बताए । तोकेका ेभन्दा बढी मूल्य पाएको बताउदै उनले सरकारले समयमै मूल्य तोक्ने र खरिद कार्य पनि समयमै गर्नुपर्ने बताए ।
गाउँका केही किसानले गहुँ बिक्री गरिसकेकाले आउँदा दिनमा समयमै खरिद कार्य सुरु गर्न उनले सुझाव दिएका छन । अर्का किसान रमेश चौधरीले खेतको उत्पादनले नै बालबालिकालाई कापीकिताब जोहो गर्नुपर्ने भएकाले खेतबाटै गहुँ बिक्री गरिसकेको बताए ।
किसानले खेतबारीको उत्पादन बेचेर घरखर्च, बर्खे खेतीका लागि बीउ र मल जोहो गर्ने गरेका छन । सरकारले आउँदा दिनमा किसानलाई राहत हुनेगरी हरेक कार्य गर्नुपर्ने उनले बताएका छन । खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ ।
प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषि सम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५ सय क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीको रहेको छ । यसका साथै बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्य भन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन् । तोकेको भन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ ।


