बैशाख १५ बैछडी । नेपाल–भारत सीमाना क्षेत्रमा बग्ने महाकाली नदीमा दुवै देशका सहरबाट निस्कने फोहोर मिसिँदा प्रदूषण बढ्दै गएको छ । प्लास्टिक, सिसा, अलुमिनियम तथा ढलजन्य फोहोर मिसिँदा नदीमा प्रदूषण बढ्दै गएको हो ।
बैतडीका विभिन्न स्थानमा गरिएको अध्ययनले नदीमा भारततर्फ धारचुला, बनवासा र टनकपुर तथा नेपालतर्फ दार्चुला, बैतडी देखि कञ्चनपुर सम्मका सहरको फोहोर महाकाली नदीमै थुप्रिने गरेको देखाएको छ । नदी किनारका बजार र बस्तीबाट निस्कने फोहोर र ढल व्यवस्थापन नहुँदा नदीमा मिसाउने गरिएको स्थानीयवासीले बताएका छन् ।
फोहोरका कारण नदीको पारिस्थितिक प्रणालीमा असर पर्नुका साथै तटीय क्षेत्रका बासिन्दाको स्वास्थ्यमा जोखिम बढेको अध्ययनले देखाएको छ । महाकालीमा पाइने ‘गोल्डेन महाशिर’ माछाको जीवनचक्र समेत संकटमा परेको जनाइएको छ । महाकाली नदीको पानीमा अम्लीयपन (पिएच) स्तर सामान्य दायरा भित्र भए पनि पानी पिउन योग्य नरहेको सरोकारवालाले बताएका छन् ।
नदीमा ढल, बजारको फोहोर र रासायनिक पदार्थ मिसिँदा हानिकारक जीवाणुको मात्रा बढेको उल्लेख गरिएको छ । नदी किनारका बासिन्दाले महाकालीको पानी सिँचाइ र घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्, जसले स्वास्थ्य जोखिम थप बढाएको छ ।
स्थानीयवासीले नेपाल र भारत दुवै देशका सरकारले नदीमा फोहोर र ढल मिसाउने कार्य रोक्न कडा कदम चाल्नुपर्ने माग गरेका छन् । साथै, सीमावर्ती सहरमा प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास गरी महाकाली नदी संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।


