बैशाख १५ बैतडी । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले दार्चुलाका थप डेढ सय अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिले प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको हो ।
लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीले कानुन अनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी गराएका हुन ।
लेकम गाउँपालिका भित्र रहेका छ वटै वडाबाट निवेदन परेका १ सय ५० जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि समन्वय गरिएको जानकारी गराउदै उनले प्रक्रिया पुगेका भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा वितरणका लागि काम भइरहेको जानकारी गराए ।
दार्चुलाका विभिन्न स्थानीय तहका ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी गराए ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका ५२ जना, दुहुँ गाउँपालिकाका १९ जना महाकाली नगरपालिका वडा नम्बर ७ र नौगाड गाउँपालिका वडा नम्बर ४ जना गरी ८० जना अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको उनले जानकारी गराए ।
दार्चुलाका दुई हजार ८ सय ३ जना नयाँ र ५ सय ३० जना अपुरा र अधुरा रहेका गरी तीन हजार ३ सय ३३ जना मध्ये ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले जानकारी गराए । आयोगले तीन हजार २ सय ५३ जनालाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेको जानकारी गराउदै उनले पाँच सयभन्दा बढी फाराम आयोगको सिस्टम नचलेका कारण लगतमा प्रविष्टि हुन बाँकी रहेको जानकारी गराए ।
त्यसैगरी कित्ताकाट नभएका र सेतो प्रमाणपुर्जा भएकालाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न बाँकी रहेको जानकारी गराउदै उनले जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेका आयोगमा लगत प्रविष्टि भएका अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई प्रमाणपुर्जा दिलाउने प्रक्रिया समेत अघि बढेको जानकारी गराए ।
वितरण गरिएका प्रमाणपुर्जा भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोवासी र भूमिहीन दलितको लगत सङ्कलन सम्बन्धी कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच, मुचुल्का र राजस्व सङ्कलन लगायतका आवश्यक प्रक्रिया पूरा गरेर वितरण गरिएको उनले जानकारी गराए ।
दार्चुलाको महाकाली नगरपालिकामा ४ सय ३१ जना, शैल्यशिखर नगरपालिकामा ६ सय २८ जना, लेकम गाउँपालिकामा १ सय ७३ जना, नौगाड गाउँपालिकामा ३ सय २७ जना, मार्मा गाउँपालिकामा १ सय ६८ जना, अपि हिमाल गाउँपालिकामा ६ सय ९१ जना, मालिकार्जुन गाउँपालिकामा ९ सय ४७ जना , दुहुँ गाउँपालिकामा १ सय ६१ र व्यास गाउँपालिकामा २ सय ६६ जना भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जानकारी गराएको छ ।


