बैशाख १५ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० प्रगतिटोलमा डिप ट्युबवेल जडान भएपछि स्थानीय किसानहरू उत्साहित भएका छन् । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरू डिप ट्युबवेल जडान भएपछि उत्साहित भएका हुन् । प्रदेश सरकारको पहलमा २५ लाख रुपैयाँ भन्दा बढी लागतमा जडान गरिएको डिप ट्युबवेलले करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
उक्त योजना आर्थिक मामिला मन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषमार्फत विनियोजित बजेटबाट जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो । स्थानीय किसान परमानन्द जोशीले सिँचाइ सुविधा पुगेपछि उत्पादन बढ्ने जानकारी गराए । पहिले सिँचाइको अभावले मेहनत अनुसार उत्पादन नहुने बताउदै उनले अब खेतमै डिप बोरिङ जडान भएपछि सहज भएको जानकारी गराए ।
त्यसैगरी वडाध्यक्ष लालबहादुर ऐरले डिप ट्युबवेल सञ्चालनमा आए पछि ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने जानकारी गराए । यसले बाँझो जस्तै रहेका खेतमा अन्नबाली, तरकारी तथा नगदे खेती विस्तार गर्न सहयोग पुग्ने उनले जानकारी
गराए । किसान हरिकृष्ण चौधरीले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको जानकारी गराउदै पहिले पानीको अभावले थोरै जमिनमा मात्रै खेती गर्न सकिने भए पनि अहिले त्यो समस्या हटेको जानकारी गराए ।
किसानहरूले सिँचाइ प्रणालीलाई पूर्ण प्रभावकारी बनाउन पाइपलाइन विस्तार आवश्यक रहेको उनले जानकारी गराए । त्यसैगरी स्थानीय किसान यशोदा भट्टले हाल बोरिङ जडान सम्पन्न भए पनि सबै खेतसम्म पानी पु¥याउन आवश्यक पूर्वाधार निर्माण हुन बाँकी रहेको जानकारी गराईन । उनले आगामी बजेटमा पाइपलाइन विस्तारका लागि बजेट व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको जानकारी गराईन । उनले डिप ट्युबवेल सञ्चालनसँगै कृषि उत्पादन वृद्धि हुने र किसानको आयआर्जनमा सुधार आउने जानकारी गराईन ।


