बैशाख ०८ दार्चुला । दार्चुला जिल्लाका २९ हजार घरधुरी मध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणको दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजना मार्फत दार्चुलाका नौ वटै स्थानीय तहका २९ हजार घरधुरी मध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको हो ।
ग्रामीण बस्तीमा विद्युत् विस्तार गर्न मुख्य लाइन र शाखा लाइन निर्माणको काम भइरहेको दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रौशनकुमार ठाकुरले जानकारी गराए । जिल्लाका २९ हजार घरधुरीमध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको उनले बताए ।
दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजना मार्फत थप दुई हजार पाँच सय घरधुरीमा विद्युत् बाल्न लाइन निर्माणको काम भएर विद्युत् प्रसारणको अन्तिम तयारी भइरहेको उनले बताए । बाँकी घरधुरीमा विद्युतीकरण गर्नका लागि बजेटको माग गरेको बताउदै उनले बजेट स्वीकृत भई आएमा मुख्य लाइन तथा शाखा लाइन निर्माणको काम सुरु हुने बताए ।
यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मर मार्फत विद्युत् वितरण गर्दै आएको बताउदै उनले आयोजना मार्फत ट्रान्सफर्मर थपिएको बताए । त्यसैगरी नेपाल भारतको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका वडा नम्बर २, मालगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सफल भएको उनले बताए ।
मालगाउँका १५ घरधुरीमा विद्युत् विस्तार गरिएको बताउदै उनले निकट भविष्यमै सबै घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य रहेको बताए । मालका स्थानीय जनकसिंह धामीले उज्यालोको सपना देख्दै धेरै अन्धकारमय रात बिताए पछि विद्युतीकरण भएकोमा खुसी व्यक्त गरे ।
महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिका लगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी गराए । व्यास, मार्मा, नौगाड, अपि हिमालमा गाउँपालिकामा पनि विद्युतीकरणका लागि काम भइरहेको उनले बताए ।
दार्चुलामा हालसम्म ७५ प्रतिशत घरधुरीमा बिजुली बलिसकेको बताउदै उनले करिब साढे बाइस हजार घरधुरीमा बिजुली पुगिसकेको र बाँकी घरधुरीमा विद्युतीकरणका लागि बजेटको पहल भइरहेको बताए । दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरी तीन वटा सबस्टेसन मार्फत विद्युत् वितरण गरिएको उनले जानकारी गराए ।


