चैत्र १२ धनगढी । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार आयोगले राजनीतिक नेतृत्व तथा उच्च पदस्थ व्यक्तिहरूमाथि समेत फौजदारी कसुरमा कारबाही गर्नु पर्ने उल्लेख गरेको छ । आयोगले नेपाल प्रहरीका डिआइजी ओमबहादुर रानामाथि पनि कारबाहीका लागी सिफारिस गरेको छ ।
जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख रहेका राना हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका छन् ।
कर्तव्य पालनामा कमजोरी देखिएको ठहर गर्दै आयोगले प्रहरी ऐन २०१२ को दफा ९९४० र प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार उनीमाथि कारबाही गर्न नेपाल सरकारलाई सुझाव दिएको हो ।
त्यसैगरी आयोगले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख हाल डिआइजी विश्व अधिकारी, उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेलमाथि पनि कारबाही गर्न सिफारिस गरेको जनाएको छ ।


