सीमानाकामा सधैँ सास्ती खेप्दै नेपालीमाघ २५ धनगढी । भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीले सधै सीमानाकामा सास्ती खेप्नु परेको छ । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले विभिन्न वहानामा सताउने गरेका कारण नेपालीले सधै सीमानाकामा सास्ती खेप्नु परेको हो । चेकजाचका नाम्मा उनीहरुले नेपालीसँग पैसा असुल्ने गरेका छन् । स्वदेश फर्कनेको ठुलो भिड हुने चाडबाडका वेला अवैध असुलीको विषय अरू वेलाभन्दा बढी उठ्ने गरेको छ । भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका बास्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर आएको बताए । ‘घरपरिवारका लागि लुगाकपडा ल्याएको बताउदै उनले सामानको पैसा लाग्छ भनेकाले पैसा तिरेको बताए ।
त्रिनगर नाकामा भेटिएका उनले सँगै आएका पाँचजना सबैले प्रति ब्याक्ति एक सय भारु बुझाएर आएको बताए । भारतको राजधानी नयाँदिल्लीमा होटेलमा काम गर्ने बताउदै उनले पारिवारिक कामले घर आएको बताए । भारतीय भन्सार कर्मचारीले सामान ल्याएर फर्कने नेपालीलाई सडक छेउमा सिसा र आल्मुनियमबाट बनाएको अस्थायी संरचनामा बोलाएर पैसा असुल्ने गरेको उनले बताए । उनीहरूले सामानको पोका हेरेर डेढ–दुई सय रुपैयाँ सम्म माग्ने गरेको घर फर्कने नेपालीहरूले बताएका छन । कञ्चनपुरको बेलडाँडीका राजेन्द्र रोकायाले ओढ्ने, सुटकेस र झोला गरी सामानको तीन वटा पोकाको भारतीय भन्सार कर्मचारीले सय रुपैयाँ लिएको बताए । लाइनमा अरूसँगै सरासर आउँदै गरेको अबश्थामा सामान देखेर भित्र बोलाएर पैसा लिएको उनले बताए ।
शुक्रबार बिहान त्रिनगर नाकामा घर जानका लागि उभिएका खत्रीले पैसा नदिउँ भने सामान राखिदेलान् भन्ने डरले दिनु परेको बताए । भारतबाट फर्कनेहरू प्रायः केही न केही सामान ल्याएर आउनले भएकाले त्यही सामान ल्याएको वहानामा भारतीय भन्सार कर्मचारीले अवैध रूपमा पैसा असुल गर्दै आएका छन् । घर फर्कने कतिपय नेपाली पैसा नतिरेरै पनि आउने गरेका छन् । भारत सुदूरपश्चिमेलीका लागि रोजगारीको प्रमुख गन्तव्य हो । सरकारी निकायसँग यकिन तथ्यांक नभए पनि हजारौँको संख्यामा नेपाली भारतीय रोजगारीमा जाने गरेका छन । सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर र गड्डाचौकीमा चाडबाडका वेला स्वदेश फर्कनेको बढी भिडभाड हुने गरे पनि रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने दैनिक जसो भेटिन्छन । भारतको दिल्लीबाटै फर्किएका कञ्चनपुरको बेलौरीका भीमबहादुर खत्रीले नाकामा पैसा बुझाउनु पर्ने बाध्यता अझै उस्तै रहेको बताए । रोजगारीका लागि भारत आवत जावत गरिरहने उनले सोझासाझा नेपालीबाट नाकामा रकम असुल्ने काम भइरहे पनि नेपाली सुरक्षाकर्मीले केही गर्न नसकेको बताए । दिल्लीमा निजी सवारी चलाउदै आएका उनले घर आउँदा सबैले लुगाफाटो ल्याउने गरेको बताए । त्यही देखाएर पैसा माग्ने गरेको उनले बताए । भनसुन गर्न सक्नेहरू भने पैसा नदिएर पनि आउने गरेको उनले बताए । नेपालमा भएको जेन–जी आन्दोलन पछि सीमानाकामा भारतीय सीमा सुरक्षा बलले चेकजाँच पनि कडाइ गरेको छ । जसका कारण नेपालीलाई सीमा पार गर्न लामो समय लाइनमा बस्नुपर्ने अबश्था रहेको छ । सशस्त्र प्रहरीको प्रस्तावित त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले पारि पैसा असुलेको विषयमा नेपालीबाट कुनै गुनासो नआएको बताए । उनका अनुसार अहिले दैनिक डेढ–दुई सय नेपाली घर फर्किरहेका छन् । ‘विवाह, व्रतबन्ध गर्ने समय र चुनाव आउन लागेकाले पनि अहिले भारतबाट घर फर्कने नेपालीको संख्या बढेको कार्कीले बताए । पारि पैसा असुलेको गुनासो नआएको बताउदै उनले अप्ठ्यारो परेकालाई सहजीकरण गरिरहेको बताए ।

