मंसिर ०७ धनगढी । नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढी पार्टी एकता सन्देश सभा आयोजना गर्ने भएको छ । आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले सन्देश सभाको बारेमा जानकारी गराएको हो ।
सन्देश सभा आयोजनाको तयारीका लागि शनिबार धनगढीमा तयारी छलफल सम्पन्न भएको र छलफलमा विभिन्न निर्णयहरु भएको नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जानकारी गराएका छन ।
‘सन्देश सभाको प्रभावकारी तयारी र आयोजनाको लागि १३ वटा उपसमितिहरु गठन गर्नुका साथै नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थक र शुभेच्छुकहरुबाट सहयोग प्राप्त गर्न आवश्यक कार्ययोजनाका साथ सक्रिय रुपमा आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने निर्णय गरिएको उनले जानकारी गराए ।
सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।
छलफलमा सन्देश सभालाई व्यापक जनसहभागिता सहित प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि डा भीम रावलको संयोजकत्वमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्र देखि स्थानीय तहका कमिटी, जनसंगठनहरुका पदाधिकारी र जननिर्वाचित प्रतिनिधिहरु समाविष्ट मूल व्यवस्थापन समितिको गठन गर्ने निर्णय समेत भएको जनाइएको छ ।
धनगढीका क्याम्पस रोड चोक तथा चौराहमा बिहान ११ ः ३० बजे भेला भई त्यहाँबाट जुलुस सहित पार्क मोडमा एकत्रित भई रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा हुने डा रावलले जानकारी गराए ।
प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा सम्पन्न भएपछि यही मंसिर महिना भित्र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, पालिका र वडाहरुमा पार्टी एकता सन्देश सभाको आयोजना गरिने उनले जानकारी गराए ।


