नेपाली समाजमा सबै भन्दा पीडित दलित समुदाय नै हो । नेपालको राज्य सत्ताले लामो समय सम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट चिनिन नदिए पनि सबै भन्दा पीडित दलित समुदाय बन्दै आएको हो । कामी, दमाई, लिम्बु गुरुङ, मुसलमान जस्ता जातमात्र लेख्न दिएर थरमाथि हिन्दु उच्च जातिको वर्चश्व रहेकाले दलितहरुलाई पीडित बनाईयो । उच्च जातका थर नै लेखियो तर अरुलाई जात मात्र लेख्न दिइयो ।
२०३६ सालमा विद्यार्थी आन्दोलन मार्फत अलिअलि जागरण आयो । त्यसलाई राज्यले रोक्न सक्ने अवस्था थिएन । त्यसपछि विस्तारै लेख्न नदिइएका थरहरु लेख्ने क्रम सुरु भयो । दलित जातिभित्रका घिमिरे, गौतम, दुलाल लगायतले आफनो थर लेख्न थाले । त्यसले उच्च जातीय शासकहरुलाई आफ्नो थर लेख्न थालेकोे भ्रम प¥यो । थर भएका दलितहरुलाई पनि जातका आधारमा मात्र चिनिन बाध्य पारियो । उनीहरुले बिहेबारीमा मात्र थरको प्रयोग गर्ने संस्कार बन्यो ।
पोडवालबाट आएकालाई पौडेल भनिएको हो पोडवाल भन्ने ठाउँबाट बाहुन मात्र हिँडेका त होइनन् नि । त्यहाँबाट बाहुन, क्षेत्री, दलित सबै हिँडेका हुन् । भने पछि पौडेल बाहुन पनि हुने भयो दलित पनि हुने भयो । त्यस्तै, दुल्लुबाट हिँडेको मगर पनि दुलाल, कामी पनि दुलाल, बाहुन पनि दुलाल, सार्की पनि दुलाल । उनीहरुलाई पहिले दुलाली भनिन्थ्यो पछि दुलाल भन्न थालिएको हो ।
थर फेर्ने कुरा दलितमा भन्दा शासक वर्गमा धेरै छ । जस्तो जंगबहादुरले थर फेरेर राणा लेख्न थालेका थिए । अझ उनका सन्तानले त जंगबहादुर राणा लेख्न थाले । त्यसअघि उनीहरु राणा थिएनन् । मुस्लिम शासकले दिएको उपाधिलाई पृथ्वीनारायण शाह खलकले थर कै रुपमा लेखे र लेख्न लगाए । कतिपय गोतामेहरुले गौतम ऋषिका सन्तान हौँ भनेर गौतम लेख्न थालेको पनि पाइएको छ ।
काठमाण्डौ बाहिर गएका धेरै नेवारले आफूलाई श्रेष्ठ भन्छन तर, उनीहरु सवै श्रेष्ठ होइनन् । नेपालमा थर निर्माणका मुख्य आधार र अभ्यास ठाउँको नामबाट हुने गरेका छन । रिगामबाट रेग्मी, सापकोटाबाट सापकोटा, अछामबाट अछामी, मगरातबाट मगराती, पोडवालबाट पौडेल, पोखरनबाट पोखरेल, दुल्लुबाट दुलाल रहेका छन । त्यसैगरी पदसँग सम्बन्धित थर पनि रहेका छन ।
सुब्बा, मुखिया, भण्डारी, राई, मण्डल, चौधरी, मिजार रहेका छन । आचार्य, दीक्षित, शास्त्री, पूजारी, लामा जस्ता पदवीहरुबाट पनि थर रहेका छन । ज्ञानको स्तरका आधारमा पनि थर लेख्ने गरिएको छ । एक वेद पढेको वेदी, २ वेद पढेको द्वीवेदी, तीनवटा वेद पढेको त्रिवेदी र सबै वेद पढेको चतुवेर्दी भएका छन । लिम्बू समुदायभित्र खेवा, तुम्खेवा भन्ने थर छन् ।
त्यो भनेको लिम्बूभित्र चरा प्रजाति नखाने थर हो भन्ने बुझिन्छ । भूगोलको बनोटको बसोबासका आधारमा पनि थर रहेको पाईएको छ । मानिसहरुको बसोबासका आधारमा पनि थर राखिएका छन् । गैरो ठाउँमा बस्दाबस्दै गैरे थर रहेको विश्वास गरिन्छ । त्यस्तै आस्थाका आधारमा पनि थर बनाईएका छन् । महादेवको खलकभित्र बृञ्ची भन्ने इन्जिनियरको थर विश्वकर्मा रहेको पाईन्छ ।
राज्यले थर लेख्नै नदिएर, कहिल्यै भन्नै नदिएर दलितहरुले थर गोत्र नै बिर्सने अवस्था आएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा दलित जातिका व्यक्तिले आफ्नो थर र गोत्र बिर्सिसकेका छन । समाजको परिवर्तनशीलता, समय, सोचमा आउने परिवर्तन, विकास लगायत कारणले २००७ सालको जस्तो अवस्था नभए पनि राज्यले सचेत रुपमा शिक्षा, आर्थिक, राजनीतिक क्षेत्रको पहल गरेर भएको परिवर्तन भने होइन ।
अहिले पनि बलात्कार हुने महिलामध्ये १९ प्रतिशत दलित जातिका छन् । यो जनसंख्याको अनुपात भन्दा धेरै बढी हो । यसको मुख्य कारण विभेद नै हो । विदेशमा कमसल काम गर्नेहरु धेरै दलित समुदायका युवा छन् । यो पनि जातीय अनुपात भन्दा धेरै छ । सरकारी जागिरमा जम्मा २ प्रतिशत कर्मचारी पनि दलित जातिका छैनन् । त्यसैले दलितलाई राज्यले क्षतीपूर्ती सहितको ब्याबश्था गर्न जरुरी छ ।

