विसं २०५२ मा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको २८ वर्षपछि रुख कटानका लागि लगत संकलन कार्य सम्पन्न भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सामुदायिक वनमा औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले करिब अढाई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको दैजी छेला औद्योगिक क्षेत्रको २०७२ सालमा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको
भए पनि अहिले सम्म काम अगाडी नबढ्नु दुखद विषय हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत संकलन सम्पन्न गरेको छ । जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत संकलन गरिएको छ । विस्तृत परियोजना प्रतिवेदनमा २५ हजार रुख पर्ने देखाइए पनि २३ हजार चार सय ५५ रुखको मात्रै लगत संकलन गरिएको छ । जसले गर्दा अझै कामले गती नपाउने देखिएको छ ।
अहिले लगत संकलन भए पनि अझै छपान कार्य सम्पन्न भएको छ । त्यसपछि रुख कटानको आदेश आए पछि रुख कटान हुने छ । तर संकलनमै यत्रो समय लागे पछि रुख कटान सम्म कती बर्ष लाग्ला सहजै अनुमान लगाउन सकिन्छ । २०७७ चैतदेखि सुरु गरिएको लगत संकलनमै लामो समय लागे पछि अझै कामले गती लिनेमा विश्वास हुन सक्ने अबस्था छैन । दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कार्यलाई अगाडी बढाउन सरकार लगायत स्थानीयले पनि सक्रिय हुन जरुरी छ ।
शिलान्यास गर्ने काममा वास्ता नगर्ने प्रवृतिले पछाडी धकेलीएको औद्योगिक क्षेत्रको निर्माण प्रकृया छिटो भन्दा छिटो अगाडी बढाउन जरुरी छ । समयमै योजना सम्पन्न गर्न समयमै कामको सुरुबात गर्न जरुरी छ । राष्ट्रिय महत्वको दैजी छेला औद्योगिक क्षेत्रलाई समयमै सम्पन्न गर्न सबै सक्रिय हुन जरुरी छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराई सकेको छ ।
त्यसमा चार सय बिघामा भौतिक संरचना बन्ने डिपिआर तयार भएको छ । १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी एक सय १७ वटा उद्योग स्थापना हुने भएका छन । यो योजना समयमै सम्पन्न गर्न सके सुदूरपश्चिम प्रदेशको आर्थिक उन्नतीमा टेवा पुग्नुका साथै रोजगार पनि सृजना हुने भएकाले यसलाई समयमै सम्पन्न गर्न सबै जिम्मेवार हुन जरुरी छ ।
लगतै भौतिक सरचना निर्माणको कार्यलाई तिब्र गतीमा अगाडी बढाउन जरुरी छ । जसका लागी सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशबाट निर्बाचित संघिय साँसद र मन्त्रीहरु जिम्मेवार हुन जरुरी छ । प्रदेश सरकार र स्थानीय सकारसंगै जनता पनि जिम्मेवार हुन जरुरी छ । दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा ढिलाई नगरी चाडो भन्दा चाँडो अगाडी बढाउन जरुरी छ ।

