भदौ २५ धनगढी । जेनजी आन्दोलनको दोस्रो दिनमै सरकार घुँडा टेक्न बाध्य भए पनि देश जलेर खरानी भएको छ । पहिलो दिन भदौ २३ गते भएको आन्दोलनमा सरकारले व्यापक दमन गरेर १९ जना युवाहरुको हत्या गरेपछि दोस्रो दिन देशै भरी आन्दोलनकारी सडकमा उत्रिएपछि सरकार घुँडा टेक्न बाध्य भएपनि देश जलेर खरानी भएको हो । देशभर सरकारी कार्यालय र गाडीहरुमा आगो लगाउने काम भएकाले देश अझै दशकौ बर्ष पछि धकेलीएको छ ।
केपी शर्मा ओलीले दोस्रो दिनको आन्दोलन सुरु भएको केही घण्टामै राजीनामा दिए पछि आन्दोलनकारीहरुले देश कब्जामा लिएर राष्ट्रिय सम्पती माथी आगजनी गरेका थिए । आन्दोलनकारीले सरकारका मुख्य निकाय राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत कब्जामा लिएर तोडफोड र आगजनी गरेका थिए । जेन जीले देशै भरी मुख्य दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई निशाना बनाउदै उनीहरुका घरमा आगजनी गरेका छन ।

मुख्य दलका नेता काँग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डको निवास तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । जेन जीको आक्रमणमा परेर काँग्रेस सभापति शेर बहादुर देउवा दम्पती घाइते समेत भएका छन् । आन्दोलनकारीको निसानामा परेकी पर राष्ट्र मन्त्री समेत रहेकी देउवा पत्नी आरजु राणा देउवा र एमाले, काँग्रेसका नेता घाइते भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि आन्दोलनकारीहरुले मंगलबार दिनभरी आन्दोलन गरेका थिए । प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आगजनी सुरु गरेका आन्दालनकारीहरुले सुदूरपश्चिम प्रदेशका सबै मन्त्रालयहरुमा आगो लगाउनुका साथै सामानहरु जलाएका थिए भने गाडीहरु समेत जलाएका थिए । मन्त्रलयमा रहेका गाडीहरु जलाउनुका साथै सामानहरु जलाएका थिए ।
प्रदेशको आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा पनि उनीहरुले आगजनी गरेका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुई वटा गाडी समेत जलाएका छन् । त्यसैगरी बन बाताबरण तथा पर्यटन मन्त्रालयमा समेत मोटरसार्ईकलमा आगजनी गरेका थिए । यो मन्त्रालयको भवनमा भने आगोलगाउन पाएका छैनन । मोटरसाइकल,स्कुटर फर्निचर लगायतका सामान जलाएका थिए । प्रदेशको आर्थिक मामीला मन्त्रालय र भौतिक पूर्बाधार मन्त्रालयमा पनि आन्दोलनकारीहरुले आगो लगाएका थिए ।

कार्यालयमा रहेका गाडीहरु जलाएका थिए भने सामानहरु निकालेर आगजनी गरेका थिए । त्यसैगरी कृषी मन्त्रालयमा समेत आगजनी गरेका थिए । मन्त्रालयमा रहेका गाडीहरु जलाएका थिए । दिउसो साढे तीन बजेको समयमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएर उनीहरुले आगजनी गरेका थिए । सेना र शसत्र प्रहरीले सुरक्षा दिई रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्ततह उनीहरुले आगजनी गरेरै छाडेका थिए ।
अश्रु्र ग्यासको प्रबाह नगरी आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएका थिए । सरकारी कार्यालयलाई निसाना बनाएका उनीहरुले कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि आगजनी गरेका थिए । आक्रोशित जेनजीहरुले छानाछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे पनि सुरक्षाकर्मीले केही गर्न सक्ने अबश्था थिएन । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कफ्र्यु आदेश जारी गरेको भए पनि त्यसको कुनै प्रभाव नगरी जिल्ला प्रशासन कार्यालयमा समेत उनीहरुले आगो लगाएका थिए ।

आर्मी र शससत्रको घेरामा रहेको जिल्ला प्रशासन कार्यालय पनि उनीहरुले सहजै नियन्त्रणमा लिएका थिए । कैलाली कारागारलाई नियन्त्रणमा लिएर आगो लगाउनुका सथै कैदीबन्दीहरुलाई निकालेका थिए । जिल्ला अदालत कैलालीमा समेत गाडीहरुमा आगो लगाउनुका साथै अदालतमा आगो लगाएका थिए । प्रदेश सभा भवनमा पनि आगो लगाएका थिए ।
त्यसैगरी यातायात कार्यालयमा समेत आगजनी गरिएका छ । भूमीगत जलस्रो कार्यालय, सडक डीभिजन कार्यालय, हुँलाकी सडक आयोजना कार्यालय, शहरी विकास कार्यालय, शहरी विकास डिभिजन कार्यालय संघिय आयोजना कार्यान्वयन ईकाई, भन्सार कार्यालय, यातायात कार्यालय र प्रदेश लोक सेवा आयोगमा आगजनी र तोड फोड गरेका थिए । उनीहरूले धनगढीमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरिएको छ । धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका ६ वटा सरकारी गाडी र दुई वटा सरकारी मोटर साईकलमा आगजनी गरिएको थियो । त्यसैगरी गोदावरी नगरपालीकाका १० वटा सरकारी कार्यालय र नेताका घरमा आगजनी र तोडफोड गरिएको छ ।
मङ्गलवार बिहान साढे १० बजे देखि अत्तरियामा सुरु भएको जेन जीको आन्दोलन बिहान संयमित भए पनि दिउँसो देखि आक्रामक बन्दै गएपछि गोदावरीका १० वटा सरकारी कार्यालय र नेताका घरमा आगजनी र तोडफोड गरिएको थियो । बिहान शान्तिपूर्वक नाराबाजी गर्दै अत्तरियाका चोक परिक्रममा गरेका जेन जी समर्थकहरू नाराबाजी पछि तोडफोडमा उत्रिएका थिए ।

सुरुमा गोदावरी नगरपालिका कार्यालयलाई निसाना बनाएका उनीहरूलाई रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेपछि सिसा तोडफोड गरेर फर्किएका थिए । अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर जलाएर पुनः उनीहरु नगरपालिका पुगेका थिए । दोस्रो पटक नगरपालिका कार्यालय पुगेका उनीहरूले नगरपालिका जलाएका थिए । उनीहरूले नगरपालिका कार्यालय भित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरेका थिए ।
आगजनी र तोडफोड पछि नगरपालिका कार्यालय पुरै तहसनहस भएको छ । सयौँको सङ्ख्यामा रहेका जेन जी आन्दोलनकारीहरूले गोदावरीमा रहेको एमाले नेता लेखराज भट्टको घर जलाएका छन । उनीहरूले भट्टको घर भित्र रहेका सामान बाहिर फालेर पुरै घरमा लागो लगाएका थिए । घर आगोले दनदनी बलिरहेको भए पनि आगलागी भएको १ घण्टा सम्म दमकल समेत पुग्न नसक्दा ठुलो क्षति भएको स्थानीयले बताएका छन् । उनीहरूले गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि आगजनी गरेका छन् ।
अत्तरिया बजारको घना बस्तीमा रहेको भट्टको घरमा भने केही बेरमै दमकल पुगेर आगो निभाएको थियो । आन्दोलनकारीले गोदावरी नगरपालिकाका पूर्व मेयर हरि सिंह साउँदको घरमा पनि तोडफोड गरेको गरेका थिए । उनीहरूले घर भित्रका सामान बाहिर फालेर घरमा तोडफोड गर्नुका साथै बाहिर निकालिएका सामानमा तोडफोड गरेका थिए ।
आन्दोलनकारीले गोदावरीको वडा नम्बर २ का वडा सदस्य देव राज भट्टको घरमा पनि तोडफोड गर्दै घरभित्र रहेका सामान बाहिर फालेर आगजनी गरेका थिए । उनीहरूले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको घरमा पनि तोडफोड गरेका थिए । आन्दोलनकारीले अत्तरियामा रहेका तीन वटा ठुला पार्टीका कार्यालयमा पनि तोडफोड गर्नुका साथै कार्यालयमा रहेका फर्निचर र कागजात जलाएका छन ।
अत्तरियाको दुर्गा मन्दिर परिसरमा रहेको नेकपा माओवादी पार्टी कार्यालय, बन खेतमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा उनीहरूले तोडफोड गर्नुका साथै कार्यालयका सम्पूर्ण सामान जलाएर नष्ट गरेका हुन् । उनीहरूले माओवादी पार्टी कार्यालय र काँग्रेस पार्टी कार्यालयका सामान सडकमा ल्याएर जलाएका थिए ।

आन्दोलनकारीले अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पनि तोडफोड गर्दै आगजनी गरेका छन् । त्यसैगरी जेनजी समूहका युवाहरूले घोडाघोडी नगरपालिकाको कार्यालय पूर्ण रूपमा तोडफोड गर्दे आगजनी गरेका थिए । त्यसका साथै वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा पनि आगजनी गरेका थिए । उनीहरुले नगर प्रमुख खडक रावत बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दे आगजनी गरेका थिए ।
त्यसैगरी कञ्चनपुरमा भएको जेन जीको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ । जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन् ।
आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखकको बेतकोट नगरपालीका वडा नमबर८ मा रहेको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन् । डडेल्धुरामा पनि जेन जीले दिनभरि प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका थिए । दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका थिए । त्यसैगरी अछाम, डोटी लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा जेन्जीले दिनभरी आन्दोलन गरेका थिए ।



