भदौ २४ काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामाको घोषणा गरेका छन् । पार्टीले संघीय संसद् असफल भएको निष्कर्ष निकाल्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठन गर्न प्रस्ताव अघि सार्दै उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पाँच बुँदे माग सहित विज्ञप्ति जारी गर्दै सांसदहरूको सामूहिक राजीनामाको जानकारी दिएका हुन् । विज्ञप्तिमा वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको समाधान निकाल्न असमर्थ भई वैधता गुमाएको” भन्दै देशको मुख्य सम्पत्ति जेन–जी पुस्ताको माग र अपेक्षामा पार्टी पूर्ण समर्थनमा रहेको उल्लेख गरिएको छ ।
रास्वपाले सरकारद्वारा मारिएका जेन–जी आन्दोलनकारी प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र निःशुल्क उपचारको माग गरेको छ । साथै, पार्टीले निरन्तर आन्दोलनमा रहने प्रतिबद्धता पनि जनाएको छ ।
रास्वपाले अघि सारेका प्रमुख मागहरूमा प्रधानमन्त्री ओलीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने, साथै सबै दोषीमाथि कडा कारबाही गर्ने रहेका छन ।
यससँगै रास्वपाले संविधान संशोधन प्रक्रिया सुरु गर्नुपर्ने माग पनि अघि सारेको छ । पार्टीले सामूहिक राजीनामालाई “देशलाई नयाँ राजनीतिक निकास दिने ऐतिहासिक कदम” भन्दै व्याख्या गरेको छ । प्रधान मन्त्री वली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिई सकेका छन ।


