असार २६ धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा स्वीकृत बजेट मध्ये ८२.८४ प्रतिशत खर्च गर्न सफल भएको छ । नगरपालिकाका अनुसार चालु खर्चतर्फ ८५.९८ प्रतिशत र पूँजीगत खर्चतर्फ ७७.३ प्रतिशत बजेट खर्च भएको हो ।
नगरपालिकाको पूँजीगततर्फ विनियोजित बजेट ४४ करोड ७० लाख २७ हजार रुपैयाँ मध्ये ३४ करोड ५५ लाख ६४ हजार ७ सय २० रुपैयाँ खर्च भएको र १० करोड १४ लाख ६२ हजार २ सय ८० रुपैयाँ मौज्दात रहेको लेखापाल प्रकाश भट्टले जानकारी गराए ।
त्यसैगरी चालु तर्फ विनियोजित ७८ करोड ९१ लाख २३ हजार रुपैयाँ मध्ये ६७ करोड ८५ लाख २६ हजार ८ सय ९२ रुपैयाँ ६० पैसा खर्च भएको र ११ करोड ५९ लाख ६ हजार १ सय ७ रुपैयाँ ४० पैसा मौज्दात रहेको छ ।
समग्रमा १ अर्ब २३ करोड ६१ लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा १ अर्ब २ करोड ४० लाख ९१ हजार ६१२ रुपैयाँ ६० पैसा खर्च गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले गोदावरी नगरपालिकाको समग्र बजेट कार्यान्वयन प्रक्रियालाई व्यवस्थित ढंगले सम्पन्न गर्न प्रशासनिक टिम, प्राविधिक कर्मचारी, जनप्रतिनिधि र स्थानीयबासीको सक्रिय सहयोग प्रशंसायोग्य रहेको बताए । उनले आगामी आर्थिक वर्षमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाए ।


