पौष १६ बैतडी । भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख रुपैयाँको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा भन्सार छलेर ल्याइएको १६ लाख ३२ हजार रुपैयाँ बराबरको बिँडी बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दोगडकेदार गाउँपालिका वडा नम्बर–४ र सुर्नया गाउँपालिका वडा नम्बर–६ बाट भन्सार छलीको बिँडी बरामद गरेको प्रहरीले जानकारी गराएको हो ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर–४ लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी गराए ।
भन्सार छलीको बिँडी र जिप सहित चालक २६ बर्षीय सुरज ठगुन्नालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको उनले बताए ।
त्यसैगरी सुर्नया गाउँपालिका वडा नम्बर–६ रीगामा से १ ज २२१ नम्बरको बोलेर जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जिपबाट ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको छ ।
सुर्नया गाउँपालिका वडा नम्बर–२ का २१ बर्षीय जिप चालक हरिश बिष्ट सहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी गराएको छ ।
पछिल्लो समय भारतबाट अवैध रूपमा सामान भित्रिएको गुनासो आउन थाले पछि प्रहरीले कडाइ गरेको जानकारी गराएको छ ।


