पौष ०२ धनगढी । कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो । सोमबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–१ पूर्व लम्कीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ८९ हजार ५ सय मूल्य बराबरको प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समान सहित लम्कीचुहाकै थकालीपुर बस्ने २८ वर्षीया आशा हमाल र २५ वर्षीया वविता शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सामान र उनीहरु दुवैलाई नियन्त्रण लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सत्ती पठाएको जानकारी गराएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर–२ आदर्श चोक, रुवस चोक नजिक, धनगढी–३ सिसा पोष्ट, धनगढी–७ मनेहरा र धनगढी–९ त्रिवेणीघाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ९४ हजार ३ सय ४ रुर्पया मूल्य बराबरको चिनी, साबुन, बिस्कुट, मिठाई, चक्लेट, सुर्ती, साडी, सल, स्विटर, नट बोल्ड, फलामको सिक्रि, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–११ भुजेलाबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ४० हजार ३ मूल्य बराबरको जुत्ता, कपडा, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जानकारी गराएको छ ।


