फागुन ०३ बैतडी । बैतडीमा नसर्ने रोगको परीक्षण सुरु गरिएको छ । जोखिम उच्च भएपछि बैतडीका टोल टोलमै पुगेर नसर्ने रोगको परीक्षण सुरु गरिएको हो । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तरगत टोलटोलमै स्वास्थ्यकर्मी खटाईएको सुनर्या गाउँपालिकाले जानकारी गराएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिँह महराले गाउँपालिकाका सबै टोलमा स्वास्थ्यकर्मी खटाएर रोग पहिचान गर्ने काम सुरु गरिएको जानकारी गराए । उनले पालिकामा रहेका ८ वटा वडाका ६६ वटा टोलहरुमा रोग पहिचानका लागि स्वास्थ्यकर्मी खटिएको जानकारी गराए ।
उनले स्वास्थ्य परिक्षणका क्रममा आवश्यकता अनुसार औषधीहरु समेत वितरण गरिरहेको बताए । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तरगत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उनले जानकारी गराए ।
अभियानमा उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको उनले बताए । अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताए ।
त्यसैगरी सिगास गाउँपालिकाले पनि विरामी खोज्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी गराएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिने कार्य पनि भैरहेको बताएका छन ।


