माघ २६ धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेकपा सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका हुन । पार्टी केन्द्रको सर्कुलर अनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । संसदीय दलका अन्य पदाधिकारी भने निर्वाचन पछि चयन गरिने बताइएको छ ।
नेकपा २१ सदस्य सहित सबैभन्दा ठूलो दल बनेको संसदीय दलका नेता भट्टले जानकारी गराख्एका छन । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकीकरण भएपछि सुदूरपश्चिममा पनि संसदीय दल पुनर्गठन गरिएको हो । तत्कालीन माओवादी केन्द्रका सभामुख सहित ११ जना, एकीकृत समाजवादीका तीन जना (एक जना निलम्बनमा) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य गरी कुल २१ सदस्य पुगे पछि नेकपा पहिलो दल बनेको हो ।
यसअघि सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो बनेको छ । प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक जना सांसद रहेका छन् । भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी रहेका छन् ।


