कार्तिक ०१ धनगढी । लोकतान्त्रिक गतिशील पार्टी नेपालले आफ्ना सदस्य र पदाधिकारीसम्बन्धी नीतिगत प्रावधान सार्वजनिक गरेको छ । पार्टीले सदस्यता अधिकतम १६ वर्षसम्म मात्र रहने व्यवस्था गरेको छ भने १६ वर्ष पूरा भएपछि सदस्यता स्वतः अन्त्य हुने र नविकरण नहुने प्रावधान विधानमै समावेश गरेको छ ।
धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष डा. दिनेश पर्साइले उक्त विषयमा जानकारी गराएका हुन । यस्तो व्यवस्थाले पार्टीमा निरन्तर नवीकरण र नयाँ नेतृत्वको अवसर सुनिश्चित हुने उनले बताएका छन । पुरानोलाई मात्र नभई नयाँ पुस्तालाई पनि समान अवसर दिने पक्षमा ।हेको बताउदै उनले त्यसैले सदस्यता १६ वर्षभन्दा बढी समय सम्म नरहने बताए ।
त्यसैगरी पार्टीका पदाधिकारीहरूले कुनै पनि तहको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा भाग लिन नपाउने नियम पनि लागु गरिएको अध्यक्ष पर्साइले बताए । यस्तो कदमले संगठन र निर्वाचनबीचको शक्ति सन्तुलन कायम गर्न मद्दत पुग्ने उनले बताए । पार्टी र चुनावी प्रणाली फरक हुनुपर्ने बताउदै उनले पार्टी चलाउनेले उम्मेदवार नबने निष्पक्षता हुने बताए । लोकतान्त्रिक मूल्य र विधिमा आस्था राख्ने प्रगतिशील दलका रूपमा पार्टी प्रस्तुत हुने उनले बताए ।
अध्यक्ष पर्साइले गतिशील पार्टीले वर्तमान संविधान र व्यवस्थाभित्र रहँदै सुशासन, रोजगार र पारदर्शी शासनका एजेन्डा अघि सारेको बताए । पार्टीले कुनै पनि हालतमा २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सहभागी नहुने स्पष्ट नीति लिएको उनले जानकारी गराए । जनताको विश्वास बिना सरकारमा जानु नैतिकताविपरीत भएको बतानउदै उनले जनमतको बलमा मात्रै सरकारमा जाने बताए ।
पार्टीले विचार मिल्ने दलहरूसँग सहकार्यको ढोका खुला राखेको बताउदै अध्यक्ष पर्साइले गतिशील पार्टीका एजेन्डा जनताले मन पराइरहेको र पार्टी क्रमशः जनताको रोजाइमा पर्न थालेको दाबी गरेका छन । पार्टीमा एक जना अध्यक्ष ५ जना महासचिव, एक जना कोशाध्यक्ष सहित २९ सदस्य रहने उनले जानकारी गराए ।


