भदौ ३० धनगढी । जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुको प्रहरीले मुचुल्का उठाउन थालेको छ । भदौ २४ मा भएको प्रदर्शनमा सुदूरपश्चिम प्रदेशका भौतिक संचरनामा भएको क्षतिको विवरण संकलन गर्न प्रहरीले मुचुल्का उठाउन थालेको हो ।
कैलाली र कञ्चनपुरका संघ, प्रदेश र स्थानीय तह मातहतका कार्यालय र संचरनामा आगजनी, तोडफोड र लुटपाट भएको घटनाको विबरण संकलन गर्न थालीएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार कैलालीमा १ सय ३ वटा सरकारी कार्यालय भवनमा आगजनी तथा तोडफोड गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदर्शनको क्रममा १ सय ३ वटा सरकारी कार्यालयका भवन, १७ वटा पार्टी कार्यालय भवन, १२ वटा निजी घर र पाँच वटा प्रहरी बिट क्षतिग्रस्त भएको जनाएको छ । प्रहरीका अनुसार कैलाली जिल्लाभरी १ सय १४ वटा चार पाङ्ग्रे, ५ सय ४३ वटा दुई पाङ्ग्रे, ६ वटा तीन पाङ्ग्रे र १५ वटा साइकल गरी ६ सय ७८ वटा सवारी साधनमा आगजनी र तोडफोड गरिएको छ ।
प्रदेश सरकारका मन्त्रालयहरू रहेको धनगढीमा सबैभन्दा बढी सरकारी संरचनामा क्षति पुगेको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत आगजनी, तोडफोड र लुटपाट गरिएको छ ।
कैलालीको धनगढी र गोदावरी नगरपालिकाको अत्तरियामा आगजनी, लुटपाट र तोडफोड गरिएको छ । प्रदर्शनकारीको आक्रमणका कारण संरचना क्षतिग्रस्त भए पछि सरकारी कार्यालयको सेवा अहिले ठप्प छ । भदौ २३ गते सामान्य प्रदशर्न भएको धनगढीमा भदौ २४ भने भीषण प्रदर्शन भएको थियो । २५ गतेबाट अवस्था समान्य बनेपछि अहिले प्रहरी मार्फत क्षतिग्रस्त कार्यालयको विवरण संकलन गर्दै मुचुल्का उठाउने काम भइरहेको छ ।
आगजनीले क्षतिग्रस्त सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित प्रदेश सभा र अन्य मन्त्रालयमा प्रहरीले मुचुल्का संकलन गरिरहेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले जानकारी गराए । उनले जलेर नष्ट भएका भौतिक सामानको विवरण लिने काम भइरहेको र केही कोठाबाट सामान्य सेवा प्रवाह गर्ने तयारी थालिएको जानकारी गराए ।
आईतबार प्रमुख सचिवले सचिवहरूसँग बैठक राखेको बताउदै उनले सबै मन्त्रालय र कार्यालयमा क्षतिको विवरण लिने र प्रहरी मुचुल्का उठाउने काम भइरहेको जानकारी गराए । कर्मचारीहरू सबै आएको बताउदै उनले सोमबार देखि सामान्य सेवा सुरू भएको बताए ।
प्रदेश सभामा भने आइतवार नै प्रहरीले मुचुल्का उठाएको छ । प्रदेश सभा सचिवालय भवन र प्रशासनिक भवनका सम्पूर्ण सामान र स्रेस्ता जलेर नष्ट भएको सूचना अधिकारी युवराज जैसीले बताएका छन । उनले प्रहरीले मुचुल्का संकलन गरिसके पछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम मङ्गलवार देखि सुरू हुने जानकारी गराए ।
आगजनीले सभामुखको कार्यकक्ष र दुई वटा विषयगत समितिको कक्ष बाहेक लगभग सबै संचरनामा क्षति पुगेको उनले बताए । आईतबार मुचुल्का उठाउने काम भएको बताउदै जैसीले सोमबार सशस्त्र प्रहरीले सरसफाइ गरेको बताए ।
मंगलबार देखि बचेको कोठाबाट प्रशासनिक काम अघि बढाउने उनले बताए । प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका संरचना सबै क्षतिग्रस्त भएका छन् ।
यी सबै कार्यालयको क्षतिको विवरण लिने काम भइरहेको छ । यी मन्त्रालयका भवन जलेर पूर्ण रूपले क्षतिग्रस्त नभए पनि फर्निचर, कुर्सी, टेबुल, सोफासहित कागजपत्र जलेर नष्ट भएका छन् । मन्त्रालयहरूमा प्रहरीको मुचुल्का संकलन पछि सरसफाइ गर्ने र बाँकी रहेका संरचनाबाट सेवा सुचारू गरिने भएको छ ।
धनगढीमा अवस्था समान्य बन्दै गएपछि नेपाली सेनाले सुरक्षा दिएर राखेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहित मन्त्रीहरू व्यारेकबाट फर्किएका छन । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाली सेनाले उनीहरूलाई घर फर्किन आग्रह गरेको थियो ।
सेनाको तेघरीस्थित ब्यारेकबाट फर्किए पछि मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले क्षतिग्रस्त संरचनाको निरीक्षण भने गरेका छैनन् । तर प्रमुख सचिव डाक्टर कमलप्रसाद पोखरेल सहितका सचिव र कर्मचारीहरूले सेवा सञ्चालनका लागि आवश्यक काम गरिरहेका छन् ।
पूर्ण रूपमा सेवा सञ्चालन गर्नसक्ने अवस्था नभए पनि तत्काललाई क्षतिग्रस्त संरचनामा एउटै भए पनि कोठा सरसफाइ गर्दै आधारभूत सेवा प्रवाह गरिने मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले बताए ।
कैलालीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, भन्सार कार्यालय लगायतका संघीय सरकार अन्तर्गतका कार्यालयले भने अत्यावश्यक सेवा आइतबार देखि सञ्चालनमा ल्याई सकेका छन ।


